राजकुमार ओली। सुरुङ्गा झापा
सुरुङ्गा, फागुन ४ – कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जारी सातौं जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को फाइनल समीकरण पूरा भएको छ। भद्रपुर नगरपालिकाले सेमिफाइनलमा कनकाई नगरपालिकालाई पराजित गर्दै उपाधि भिडन्तमा गौरिगञ्ज गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा भद्रपुरले कनकाईलाई पेनाल्टी सुटआउटमा ४-३ को अन्तरले पराजित गर्यो। खेलको पहिलो हाफको १२औं मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, १७औं मिनेटमा भद्रपुरले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो, जसमा भद्रपुर विजयी बन्यो।
अब फाइनल खेल फागुन ७ गते भद्रपुर नगरपालिका र गौरिगञ्ज गाउँपालिकाबीच हुनेछ।
उदेश कामती ‘म्यान अफ द म्याच’ घोषित
सेमिफाइनल खेलमा प्रभावशाली प्रदर्शन गरेका भद्रपुरका उदेश कामती ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २,१०० रुपैयाँसहित मेडल प्राप्त गरे। उनलाई ग्रामिण विकास समितिका अध्यक्ष सुवास डाँगीले सम्मान गरेका थिए।
कनकाई कपको आकर्षक पुरस्कार राशी
प्रतियोगिताका विजेताले नगद १,१५,००० रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ६१,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्।
खेलकुदलाई ‘हब’ बनाउने लक्ष्य
प्रतियोगिताका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले खेलकुदले भाइचाराको सम्बन्ध सुदृढ गर्नुका साथै स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले कनकाई नगरपालिकालाई खेलकुदको ‘हब’ बनाउन लागिपरेको उल्लेख गरे।
१२ पालिकाको सहभागिता, उच्चस्तरीय व्यवस्थापन
प्रतियोगितामा जिल्लाका १२ वटा पालिकाको सहभागिता रहेको छ। खेल अवधिभर कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स सेवा प्रदान गरिरहेका छन् भने सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ।
कनकाई माविको खेलमैदानमा संचालन भइरहेको प्रतियोगिता “खेलमार्फत राष्ट्र विकासको अभियान” नारासहित माघ २५ गतेदेखि सुरु भएको थियो। आयोजक समितिका उपाध्यक्ष तथा खेल संयोजक भुवन खतिवडाका अनुसार फाइनल खेल भव्य रूपमा सम्पन्न गर्न सबै तयारीहरू भइरहेको छ।