भद्रपुर, झापा – आउँदो फागुन ७ गतेदेखि सुरु हुने ‘भद्रपुर झापा गोल्डकप २०८१’ को तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिँदै, यस वर्षको संस्करणलाई अझ भव्य र प्रतिस्पर्धात्मक बनाइने उल्लेख गरेको छ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालले प्रतियोगितामा नेपालका प्रमुख क्लबहरूका साथै भारत, भुटान र बंगलादेशका टोलीहरूको सहभागिता रहने बताए। प्रतियोगिताका विजेतालाई १३ लाख रुपैयाँ र उपविजेतालाई ७ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालन हुने मेची रंगशालाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। करिब २०,००० दर्शक अट्ने प्यारापिट तयार भइसकेको छ भने खेलाडीहरूका लागि आवश्यक व्यवस्थासमेत पूरा गरिएको छ।
यस वर्षको गोल्डकप फुटबलप्रेमीका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। आयोजकले खेलतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ।