रासस जिम्मेवार पत्रकारिताको पहिलो श्रेणीमा – पत्रकारहरूको निष्कर्ष
झापा, फागुन ५ – जिम्मेवार पत्रकारिताका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको झापाका पत्रकारहरूले बताएका छन्।
राससको ६४ औं वार्षिकोत्सवको अवसरमा झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीहरूले राससलाई नेपाली सञ्चार जगतको भरपर्दो स्रोतको रूपमा व्याख्या गरे।
रासस अनिवार्य र अपरिहार्य
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताए। उनले नेपालका साना–ठूला मिडियाले ५० प्रतिशतभन्दा बढी समाचार राससकै आधारमा प्रयोग गर्ने गरेको उल्लेख गरे।
“राससका समाचार सामग्री प्रयोग गर्ने मिडियाले स्रोत खुलाउनुपर्ने हुन्छ,” उनले भने, “साथै, आमनागरिकका अपेक्षा अनुसार समाचार निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता छ।”
साना मिडियालाई सहुलियतको माग
नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले राससको समाचार विविधतायुक्त हुने बताए। उनले सामाजिक सञ्जालमा फैलने भ्रामक समाचार चिर्ने जिम्मेवारी राससले वहन गर्नुपर्ने उल्लेख गर्दै अनुसन्धानमूलक समाचारमा ध्यान दिनुपर्ने धारणा राखे।
सञ्चार क्षेत्र संकटमा परिरहेको भन्दै महासंघका पूर्वअध्यक्ष मोहन काजी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, र नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले राससको ग्राहक सदस्यतामा साना मिडियालाई थप सहुलियत दिनुपर्ने माग गरे।
राससको विश्वसनीयता र सुधार
महासंघका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीले झापामा सन् १९६८ (वि.सं. २०२५) देखि नै राससको सेवा उपलब्ध रहेको स्मरण गराउँदै राससका समाचारहरू विश्वसनीय भएको बताए।
“धेरै ठाउँमा समाचारको सत्यता शंकास्पद देखिन्छ, तर राससले भ्रम चिर्ने काम गर्छ,” उनले भने।
महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले पछिल्लो समय राससको समाचार बुलेटिनमा सुधार आएको र राजनीतिक सन्तुलन कायम गरिएको बताए।
फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीले समाचार प्रवाह द्रुत गतिमा भइरहेको भन्दै सरकारी निकायमा भएका बेथिति प्रकाशनमा प्राथमिकता दिनुपर्ने र ‘थर्ड एंगल’ रिपोर्टिङलाई पनि समेट्नुपर्ने सुझाव दिए।
राससको भूमिकामा थप विस्तारको आवश्यकता
अन्तरक्रियाका सहभागीहरूले राससलाई अझ परिस्कृत बनाउनुपर्ने सुझाव राखे। भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले सामाजिक सञ्जालमा फैलिने भद्रगोल सूचना व्यवस्थापनमा राससले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
पत्रकार लेखनाथ परदेशी, देवेन्द्र किशोर ढुंगाना, रेवतीराज घिमिरे, अर्जुन कार्की, द्रोण अधिकारी, रमा दाहाल, खगेन्द्र भण्डारी, राजकुमार ओलीलगायतले राससको आगामी सुधारका लागि सुझाव राख्दै वार्षिकोत्सवको शुभकामना व्यक्त गरे।
कार्यक्रम रासस भद्रपुर कार्यालय प्रमुख दीपक चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन राससकर्मी अम्बिका भण्डारीले गरेकी थिइन्।