बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई ५०% अनुदानमा चापकटर वितरण
बिर्तामोड, ६ फागुन – बिर्तामोड नगरपालिकाले पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा चापकटर वितरण गरेको छ। आज आयोजित एक कार्यक्रममा नगरपालिकाले २५ जना कृषकलाई मोटरसहितको चापकटर हस्तान्तरण गरेको हो।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिन नगरपालिकाले हरेक वर्ष कृषकलाई आवश्यक उपकरण प्रदान गर्दै आएको बताइन्। उनले कृषकहरूको मागका आधारमा सिपमूलक तालिम तथा आधुनिक मेसिन वितरणलाई अझै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेको उपकरणको उचित प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी कृषक लय प्रसाद रिजालले नगरपालिकाको सहयोगको प्रशंसा गर्दै यसले पशुपालन व्यवसायमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काका अनुसार चापकटर वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको थियो। ६० वटा निवेदन प्राप्त भए पनि अनुगमनपछि २५ जना कृषकलाई वितरण गरिएको उनले जानकारी दिए।
चापकटरको मूल्य २९,५०० रुपैयाँ रहेको छ, जसमा कृषकले १४,७५० रुपैयाँ मात्र योगदान गरेका छन्। नगरपालिकाले यसअघि नै ३०० भन्दा बढी चापकटर वितरण गरिसकेको छ।
पशुपंछी तथा मत्स्य विकास शाखाका अधिकृत सावित्रा दाहालका अनुसार नगरपालिकाले चापकटर मात्र नभई चिलिङ भ्याट, दाना पिस्ने मेसिन, मिल्क क्यान, ब्रुडिङ मेसिन (चल्ला उत्पादन गर्ने मेसिन), काउ म्याट जस्ता सामाग्री समेत हरेक वर्ष कृषकलाई वितरण गर्दै आएको छ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्षहरू अग्निप्रसाद पाण्डे, किशोर पौडेल, अविरलकृष्ण खरेल, दुर्योधन गुरुङ, कार्यपालिका सदस्य सिता ढुंगाना लगायतको उपस्थिति रहेको थियो।