मेची नगर नगरपालिकाले गर्यो महत्वपूर्ण चार निर्णय

मेचीनगर, झापा – मेचीनगर नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने चार मुख्य निर्णय गरेको छ। मंगलबार बिहान नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले विकास योजना, कानुनी संरचना, छात्रवृत्ति कार्यक्रम र संघीय अनुदानको सिफारिससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो।

१. योजना बैंक तयार गर्ने
कोशी प्रदेश सरकारले योजना बैंक तयार गर्न स्थानीय तहहरूसँग योजनाका विवरण माग गरेअनुसार मेचीनगर नगरपालिकाले नगरका सबै वडाहरूमार्फत योजना तथा कार्यक्रम संकलन गर्ने निर्णय गरेको छ। संकलित योजनाहरूलाई नगर योजना बैंकमा राखी कोशी प्रदेश योजना बैंकमा सिफारिस गरिने नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष दीपक बरालले जानकारी दिए।

२. निजी, साझेदारी र सञ्चार क्षेत्रको ऐन निर्माण
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिकारलाई उपयोग गर्दै नगरपालिकाले सार्वजनिक निजी साझेदारी (PPP) तथा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न ऐन निर्माण गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको छ।

३. वीपी र सहिद विरेन छात्रवृत्ति कार्यक्रम कार्यान्वयन
नगरपालिकाले वीपी कोइराला छात्रवृत्ति तथा सहिद विरेन राजबंशी छात्रवृत्तिका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने निर्णय गरेको छ। यसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

४. समपूरक कोष र विशेष अनुदानका योजनाहरू सिफारिस
संघीय सरकारले उपलब्ध गराउने समपूरक कोष तथा विशेष अनुदान अन्तर्गतका योजनाहरू छनोट गरी सिफारिस गर्ने निर्णय गरिएको छ। यसले नगरपालिकाको विकास योजना र पूर्वाधार निर्माणलाई गति दिने विश्वास गरिएको छ।

नगर प्रवक्ता बरालका अनुसार जनसरोकारका अन्य विषयमा समेत बैठकमा छलफल भएको छ, जसको विस्तृत विवरण नगरपालिकाको वेबसाइटमा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array