भद्रपुर र गौरीगञ्जबीच उपाधि भिडन्त

सुरुङ्गा – जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुधबार भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका आमनेसामने हुने भएका छन्।

कनकाई माविको खेलमैदानमा आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भद्रपुरले पेनाल्टी सुटआउटमार्फत कनकाई नगरपालिकालाई पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो।

प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको समापन समारोह संघीय सांसद एल.पी. साँवा लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बताइएको छ।

१२ पालिकाको सहभागिता
प्रतियोगितामा झापा जिल्लाका १२ वटा पालिकाले सहभागिता जनाएका थिए। प्रतियोगिताको विजेता टिमले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताका विभिन्न विधागत उपाधि विजेताका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध
प्रतियोगिता अवधिभरका लागि कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् भने सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरले स्वास्थ्य सेवा प्रदान गरिरहेको आयोजक समितिका उपाध्यक्ष तथा खेल संयोजक भुवन खतिवडाले जानकारी दिए।

“खेलमार्फत राष्ट्र विकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको यो प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा निखार्ने अवसरका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *