विदेह नगरपालिकामा प्रशासनिक संकट : प्रमुख प्रशासकीय अधिकृतबाट ८० कर्मचारी पदमुक्त
काठमाडौँ, फागुन आठ– धनुषाको विदेह नगरपालिकामा प्रशासनिक संकट उत्पन्न भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहले ८० भन्दा बढी कर्मचारीलाई पदमुक्त गरेका छन्।
पदमुक्त गरिएका कर्मचारीहरूमध्ये अधिकांश करार तथा ज्यालादारी सेवाका छन् भने नगर प्रहरीदेखि असईसम्मका १२ जनालाई हटाइएको छ। कतिपय कर्मचारीको ग्रेड रोक्का, कतिपयलाई नयाँ नियुक्ति नदिने गरी बर्खास्त गरिएको छ।
विवादको सुरुवात : मेयरका छोराबाट कुटपिट
नगरपालिकामा हालको विवाद माघ २७ गते सुरु भएको थियो। प्रमुख प्रशासकीय अधिकृत साहले महिला शिक्षक पवन कुमारीलाई कार्यालयमा हाजिर गराएपछि नगरप्रमुख बेचन दासका छोरा रामभजन दासले साहलाई कुटपिट गरेका थिए।
साहका अनुसार माघ २९ गते मेयर दास स्वयं नगरपालिकामा आएर ज्यान मार्ने धम्की दिएका थिए।
पदमुक्त सूची : कसलाई हटाइयो ?
- १२ नगर प्रहरी (सहायक निरीक्षक, हवलदार, जवान)
- १० नयाँ नियुक्त कर्मचारी
- ३५ डोर हाजिरमा कार्यरत कर्मचारी
- २० करार सेवाका कर्मचारी (६ महिना वा एक वर्षे अवधि)
- ६ जना इन्जिनियरिङ कर्मचारी
नयाँ नियुक्ति खारेज, करार नवीकरण रोकिने
नगरपालिकाले केही दिनअघि मात्रै कानुन अधिकृत, सिभिल इन्जिनियर, कम्प्युटर अपरेटर, नगर प्रहरी लगायतका कर्मचारी करारमा नियुक्त गरेको थियो। तर अधिकृत साहले करार सम्झौताअनुसार नियुक्ति खारेज गरेका छन्।
साहले २०८१ पुस मसान्तसम्म म्याद नसकिएका करार कर्मचारी समेतलाई काम नगर्न निर्देशन दिएका छन्।
शक्ति दुरुपयोग कि प्रशासनिक सुधार ?
प्रमुख प्रशासकीय अधिकृतको एकल निर्णयमा ८० भन्दा बढी कर्मचारी हटाइनु, त्यो पनि मेयरसँगको विवादपछि, व्यक्तिगत रिसइवीको परिणाम हो कि प्रशासनिक सुधारको प्रयास ?
स्थानिय प्रशासनको शक्ति सन्तुलन र कानुनी प्रक्रियाबारे प्रश्न उठिरहेको छ। कर्मचारी पदमुक्त गर्ने निर्णय कानुनी प्रक्रिया अनुसार भएको हो वा व्यक्तिगत बदला भनेर अबको दिनमा छानबिनले खुलाउनेछ।