पटक–पटक बलात्कृत हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न नसकेको देखियो : प्रहरी
अछाम — कामको सिलसिलामा भारतमा बस्दा आफन्तबाटै १२ वर्षीया छोरी गर्भवती भएपछि अछामको एक विपन्न परिवार बिलखबन्दमा परेको छ ।
चौरपाटी गाउँपालिकाको एक निम्न वर्गीय परिवारका दम्पती लामो समयदेखि भारतको सुरतमा चौकीदारी र घरेलु कामदार थिए । एक्ली छोरीलाई घरमा छाडेर आमा घरेलु काममा जान्थिन् भने बुबा चौकीदारीमा जान्थे । सोही घरको अर्को कोठामा उनकै आफन्तको परिवार बस्थ्यो । छेउको कोठामा बस्ने ४६ वर्षीय ती आफन्तबाटै १२ वर्षीया बालिका पटक–पटक बलात्कृत भएर २८ साताको गर्भ रहेको खुलेको छ ।
पीडित बालिकाका अनुसार गत असारदेखि ती पुरुषले डर देखाएर र धम्की दिएर बलात्कार गर्दै आएका थिए । परिवारलाई बताए मार्ने धम्की दिएका कारण उनी पटक–पटक बलात्कृत भइरहिन् । बालिकाको परिवारले यसबारे पत्तै पाएन ।
कमजोर आर्थिक अवस्थाका बालिकाका बुबाआमा कसैसँग ठूलो स्वरले बोल्न नसक्ने र आफ्नै काममा मात्र चासो दिने स्वभावका भएकाले त्यसैलाई कमजोरी ठानेर बालिकालाई पटकपटक बलात्कार गरेको प्रहरीको अनुमान छ ।ekantipurbatasavar