प्रेस चौतारी झापाद्वारा स्वर्गीय पाठकको नाममा लेखनवृत्ति घोषणा
बिर्तामोड, झापा। प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा उक्त लेखनवृत्ति घोषणा गरिएको हो।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारका अनुसार हरेक ६÷६ महिनामा उत्कृष्ट खोज पत्रकारिताका लागि नगद ५ हजार १ सय रुपैयाँ लेखनवृत्तिको रूपमा प्रदान गरिनेछ। अध्यक्ष परियारले विस्तारित बैठकमा तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति कार्यक्रम घोषणा गरेका हुन्।
शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास तथा आर्थिक विषयमा खोजमूलक समाचार प्रकाशन वा प्रसारण गर्ने पत्रकारहरूलाई यो लेखनवृत्ति प्रदान गरिनेछ। पहिलो ६ महिनाका लागि प्रेस चौतारी केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारी र दोस्रो ६ महिनाका लागि केन्द्रीय सदस्य गोपाल काफ्लेले लेखनवृत्ति वापतको रकम प्रदान गर्ने घोषणा गरेका छन्।
बैठकमा झापाको पत्रकारिताको विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि, मिडिया सर्वेक्षण तथा पत्रकारहरूको पेशागत सुरक्षाका सवालमा छलफल गरिएको थियो। बैठकले सचिवालय गठन र अनुगमन समिति निर्माण गरेको सचिव युवराज आचार्यले जानकारी गराए।
सो बैठकमा कोशी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो। बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारी रहेका थिए भने केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज सन्तोष आचार्य, केन्द्रीय सदस्य गोपाल काफ्ले, पूर्व अध्यक्ष माधव विद्रोही, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सदस्य राजकुमार ओली, नेकपा एमाले झापाका सदस्य तथा प्रेस चौतारी झापाका इञ्चार्ज मनकुमार गदाल, निर्वाचन आयोग सदस्य सावित्रा दाहाल, प्रचार तथा प्रकाशन विभाग कोशी प्रदेशका सदस्य मोहनकाजी, प्रेस चौतारीका कोशी प्रदेश उपाध्यक्ष युवराज विवश, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतका पत्रकार तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।