भद्रपुर झापा गोल्डकप:अब भुटानले झापा ११ सँग सामना गर्ने

डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ।

भद्रपुरस्थित मेची रंगशालामा भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए। सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए। त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो। खेलको ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे।

खेलको ५९ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए। मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए। खेलको ६३ औँ मिनेटमा भुटानले ३–१ को अग्रता बनायो। एपिएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे।

दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले खेललाई ३–२ पुर्यायो। भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए। त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे।

खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेल भए। उनले नगद २१ हजार र ट्रफी प्राप्त गरे।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल हात पार्नेछ। प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array