श्री श्री ठाकुर अनुकूलचन्द्रको १३७ औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव बिर्तामोडमा आयोजना हुँदै
झापा, फागुन १६ – श्री श्री ठाकुर अनुकूलचन्द्रको १३७ औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव झापा बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। सत्संग नेपालको आयोजनामा तथा सत्संग मन्दिर बैशावाडी अर्जुनधारा–५ को संयोजनमा फागुन १७ गते (शनिबार) बिर्तामोडमा यो धार्मिक उत्सव सम्पन्न हुने छ।
बिहीवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले उत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी गराएको छ। देश तथा विदेशबाट आउने भक्तजनका लागि दुई हजारको बसोबास र खानपानको व्यवस्था गरिसकिएको छ भने करिब तीन हजारभन्दा बढी श्रद्धालुहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
धार्मिक सहिष्णुता र बन्धुत्वको सन्देश
सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलाले धार्मिक कार्यक्रमहरू भाइचारा, सहिष्णुता, र सामाजिक एकता कायम राख्ने सशक्त माध्यम भएको उल्लेख गर्दै यस उत्सवले त्यसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, दुई वर्षअघि प्रथम राष्ट्रिय उत्सव वीरगञ्जमा सम्पन्न भएको थियो भने यस पटक झापामा भव्य रूपमा आयोजना गरिंदैछ।
भव्य कार्यक्रमहरूको आयोजना
दोस्रो नेपाल राष्ट्रिय उत्सवलाई अझ आकर्षक बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू तय गरिएको छ। कार्यक्रम संयोजक सुमन शर्मा जमरकट्टेलका अनुसार, फागुन १६ गते (शुक्रबार) साँझ ४ बजे संगीतसभा, सामूहिक सन्ध्याकालीन बिन्ति प्राथना, र अन्य विशेष कार्यक्रमहरू हुनेछन्।
शनिबार बिहान भने बेदमांगलिकी पाठ, उषाकिर्तन, सामूहिक प्रातःकालीन बिन्ति प्राथना, गन्थ्रादि पाठ, शोभायात्रा, धर्मसभा, मातृ सम्मेलन, संगीतसभा, सामूहिक सन्ध्याकालीन बिन्ति प्राथनालगायत कार्यक्रमहरू हुनेछन्। विशेष रूपमा, शोभायात्रा शनिबार बिहान ९ बजे सुरु हुने र भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
सांस्कृतिक प्रस्तुति र सामूहिक रक्तदान
राष्ट्रिय उत्सवलाई सांस्कृतिक र सामाजिक रूपमा समृद्ध बनाउन लाखें नृत्य, चण्डी नाच, विभिन्न धार्मिक झाँकी, प्रवचन, र सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्। साथै, उत्सवकै अवसरमा सामूहिक रक्तदान कार्यक्रम पनि आयोजना गरिने छ, जसले सामाजिक सेवाको महत्त्वलाई उजागर गर्ने संयोजक जमरकट्टेलले बताउनुभयो।
देशभरबाट भक्तजनको ठूलो उपस्थिति
राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेतका अनुसार, उत्सवमा देशभरका विभिन्न स्थानबाट मात्र नभई विदेशबाट पनि श्रद्धालु भक्तजन आउनेछन्। आयोजकहरूको अनुमान अनुसार, ३० हजारभन्दा बढी भक्तजनको सहभागिता रहने छ।
यो धार्मिक एवं सांस्कृतिक कार्यक्रमले भक्तजनहरूलाई आध्यात्मिक चेतना प्रवाह गर्ने विश्वास गरिएको छ। आयोजक समितिले सहभागी सबैलाई अनुशासन तथा सुरक्षाका मापदण्ड अपनाउँदै सहभागी हुन अनुरोध गरेको छ।