गणेश ढुङ्गाना
बिर्तामोड झापा – झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता को उपाधिका लागि आज झापा–११ र भद्रपुर ब्लेजर्स बीच रोमाञ्चक भिडन्त हुँदैछ। दुवै टोली झापाली भएकाले उपाधि झापामै रहने निश्चित भइसकेको छ।
फाइनलसम्मको यात्रा
पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्सले बंगलादेशको काउर्न बजार प्रगति संघलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। दोस्रो सेमिफाइनलमा भने झापा–११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको थियो।
दुवै टोली उपाधिका लागि दावेदार
बिहीबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले आफ्नो जीत निश्चित रहेको दाबी गरेका छन्। दुवै झापाली टोली भएकाले दर्शकहरू कुन टिमलाई समर्थन गर्ने भन्ने अन्योलमा देखिएका छन्।
उपाधि विजेतालाई आकर्षक पुरस्कार
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछन्। उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल पाउनेछन्।
प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द टुर्नामेन्टको उपाधिसहित नगद १ लाख ५ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।
रोमाञ्चक खेलको अपेक्षा
स्थानीय दर्शकमाझ निकै लोकप्रिय बनेको भद्रपुर झापा गोल्डकप को फाइनल खेलले दर्शकलाई रोमाञ्चक फुटबल अनुभव दिने अपेक्षा गरिएको छ। दुवै टोली फाइनल खेल जित्न उत्साहित देखिएका छन्, जसले प्रतियोगिताको समापनलाई थप रोचक बनाउनेछ।