झापा – झापामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान सुरु गरिएको छ।
जिल्ला ट्राफिक कार्यालय झापाको अगुवाइमा र स्थानीय तहको समन्वयमा यो अभियान थालिएको हो।
आइतबार कन्काई नगरपालिकामा आयोजित कार्यक्रममार्फत नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई ट्राफिक नियम, सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणबारे तालिम दिइएको छ। तालिम जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले सञ्चालन गरेका थिए।
समुदायलाई प्रत्यक्ष लाभ
ट्राफिक प्रमुख पौडेलका अनुसार प्रशिक्षित शिक्षकहरूलाई विद्यालयमा ट्राफिक शिक्षकका रूपमा परिचय दिइनेछ। ती शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा तयार पार्ने छन्, जसले आफ्ना घरपरिवार र समाजमा ट्राफिक सचेतना फैलाउनेछन्।
“जिल्लाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिसकिएको छ। स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम विस्तार गर्दै छौँ,” निरीक्षक पौडेलले भने।
नगर प्रमुखको विश्वास
कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए।
“हामीले आफूले जानेर मात्र पुग्दैन, सिकेका कुरा अरुलाई पनि पु¥याउन जरुरी छ,” उनले सहभागी शिक्षकहरूलाई आग्रह गर्दै भने।
कार्यक्रममा नगरपालिकाकी योजना शाखा प्रमुख जमुना कटुवालले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा नगरका विभिन्न विद्यालयका ४१ जना शिक्षक सहभागी थिए।
समुदाय साझेदारीको अवधारणा
ट्राफिक प्रमुख पौडेलका अनुसार विद्यालय, शिक्षक र विद्यार्थीहरूबाट समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने भएकाले यो अभियान थालिएको हो। ट्राफिक सचेतना समुदायमा विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम समुदाय साझेदारी योजनाअन्तर्गत ल्याइएको हो।