अग्रज जनवादी गायक चन्द्र भण्डारीको भव्य सम्मान

राजकुमार ओली। बिर्तामोड, झापा –

कालजयी गीतका स्रष्टा, जनवादी गायक, अग्रज पत्रकार तथा राजनीतिक योद्धा चन्द्र भण्डारीले ५२औं सुखानी स्मृति दिवसको अवसरमा सम्मानित हुनुभएको छ।

सोही अवसरमा वरिष्ठ संचारकर्मी एवं जनवादी गायक भण्डारीले कार्यक्रममा विशेष सांगीतिक प्रस्तुति राख्नुभएको छ। नेकपाd एमाले झापाले आयोजना गरेको कार्यक्रममा भण्डारीले आफ्ना सुमधुर, जोशिला र प्रेरणादायी एक दर्जनभन्दा बढी जनवादी गीतहरू प्रस्तुत गर्नुभएको थियो।

बिर्तामोडस्थित पार्टी कार्यालयमा राष्ट्रिय जनसांस्कृतिक महासंघ झापाले सुरु गरेको ‘स्रष्टा आवाज’ शृङ्खलाको पहिलो भागमा भण्डारीले “भीर पखेरामा हाम्रो झण्डा खोइ…” बोलको गीतबाट प्रस्तुति सुरु गरेका थिए। जब उनले “यो माटोभरि हाम्रै रगत पसिना भिजेको छ…” गीत गाए, हल तालीले गुञ्जिएको थियो।

राजनीतिक संघर्ष र सृजनात्मक योगदान
भण्डारीले २०३५ सालतिर रेडियो नेपालमा रेकर्ड गराएको यो गीतकै कारण राजद्रोहको मुद्दा लागी साढे ३ वर्ष जेल बस्नुपरेको सम्झिए। २०२७ सालमा टिस्टामा पिकनिक जाँदा गाएको पहिलो गीतदेखि हालै रेकर्ड गरिएका नयाँ गीतसम्म प्रस्तुत गर्दै उनले दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो।

पञ्चायती निरंकुश शासनविरुद्ध राजनीतिक आन्दोलनका क्रममा ११ वटा जेलमा बन्दी जीवन बिताउँदा धेरै गीत रचेको स्मरण गर्दै भण्डारीले भने, “हालसम्म ३०० वटा गीत रचना गरिसकेको छु।”

२०३९ सालमा पार्टीमा अन्तरविरोध उत्कर्षमा पुगेको बेला नेताहरूलाई सम्झाउँदै गाएको “भुइँकुहिरो उड्न थाल्यो है…” बोलको गीतले चर्चा पाएको थियो। सोही गीतका केही अन्तरा उनले कार्यक्रममा गाएर हल गुन्जानमय बनेको थियो।

नेकपा एमालेले कलाकारको सम्मान र जनवादी संगीतको महत्व लाई निकै गम्भीरतापूर्वक लिएको र कलाकार राष्ट्रको गहना भएको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले बताउनु भएको छ

कार्यक्रममा प्रमुख अतिथि एवम् नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल ले जनवादी संगीत नेपालको कम्युनिस्ट आन्दोलनको अभिन्न अंग भएको उल्लेख गर्दै भण्डारीलाई कदरपत्रसहित सम्मान गर्नुभएको हो।

भण्डारीले “चुनावका बेला मात्र कलाकारलाई प्रयोग गर्ने र अरुबेला वेवास्ता गर्ने” परिपाटीको आलोचना गर्नुभएको छ भण्डारीले जब “मुठ्ठी उचाली लड्छौं बढ्छौं देशका लागि…” गीत गाए, हलका दर्शक छमछमी नाचेका छन्

कार्यक्रममा २०६२ को जनआन्दोलनका सहिद सुरज विश्वासकी आमालाई पनि सम्मान गरिएको थियो। भुपाल शिवाकोटीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ झापाका अध्यक्ष डाक्टर कुमार सुबेदी, मोहन बिक, रक्षा तिम्सिना लगायतले पनि सांगीतिक प्रस्तुति दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array