मेचिनगरमा मनोपरामर्श प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्दै

राजकुमार ओली

मेचीनगर, फागुन २२ इटाभट्टा – 

मानसिक स्वास्थ्यप्रति सचेतना बढाउँदै मेचीनगर नगरपालिकाले सञ्चालन गरेको मनोपरामर्श कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ। 

मेचीनगर नगरपालिकाका स्थानीय नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी सहयोग तथा परामर्श प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको  कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्न थालेको देखिएको हो ।

वैदेशिक रोजगारबाट फर्किएका साथै रोजगारीमा जान लागेका नगरवासीहरूमा देखेका समस्यालाई लक्षित गर्दै मेचीनगर नगरपालिकाले रेमि परियोजनासँग सहकार्य गरी मनोपरामर्श सेवा सुरु गरेको र नगरपालिकाका सम्पूर्ण स्वयंसेविकाहरुलाई समेत सचेतना मूलक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। 

नगरपालिकाकी मनो परामर्शकर्ता एवं मनोविद सरस्वती मिश्र ओलीले नगरपालिकाका १५ वटै वडाका ९३ जना स्वयंसेविकाहरुलाई प्रशिक्षण कार्यक्रम सुरु गरिएको र स्वयंसेविकाहरूको सहयोगबाट मनो परामर्श सेवा लिने लक्ष्य राखिएको बताउनुभएको छ। 

मनोविद ओलीले वैदेशिक रोजगारबाट फर्किएका नगरबासिलाइ देखेका विभिन्न किसिमका समस्याहरूको बारेमा सचेतना कार्यक्रम आयोजना गर्दै आत्मनिर्भर बनाउन भूमिका खेल्ने लक्ष्य राखिएको बताउनुभएको हो।

मेची नगरका नागरिकलाई सहज रुपमा मनोपरामर्श सेवा पुर्‍याउने लक्ष्यका साथ रेमी परियोजनाले मेचीनगर नगरपालिकासँग मिलेर विगत लामो समयदेखि काम गर्दै आएको र आउने दिनमा अझ उत्कृष्ट सेवा दिने लक्ष्य राखिएको मेचिनगर नगरपालिकाका अधिकृत अनन्त वस्तीले बताउनुभएको छ।

नगरपालिकाले विद्यालय, स्वास्थ्य चौकी तथा विभिन्न समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र व्यक्तिगत मनोपरामर्श सेवा प्रदान गरिरहेको छ। विशेष गरी तनाव, डिप्रेसन, पारिवारिक समस्या, किशोर–किशोरीको मानसिक स्वास्थ्य र व्यसन सम्बन्धी परामर्श सेवाहरूमा धेरै व्यक्तिहरू लाभान्वित भएका छन्।

मेचीनगर नगरपालिकाका स्वयंसेविकाहरूलाई साइकोलोजिस्टका सेवाहरु बाट तालिम प्राप्त बनाएर टोलटोलमा सेवा दिने लक्ष्य राखिएको रेमी परियोजनाका फडिन्द्र दाहालले बताउनुभएको छ। स्वयंसेविका हरुको सेवाबाट समुदायमा सकारात्मक प्रभाव पर्न थालेपछि मेचीनगर नगरपालिकाले अझ उत्साहका साथ काम अघि बढाएको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनु भएको छ ।

स्वास्थ्य स्वयंसेविकाहरूबाट टोल टोलमा नागरिकहरूको  लागि विशेष परामर्श कार्यक्रम सञ्चालन गर्दा लक्षित समूहमा समेत उत्साहजनक परिवर्तन देखिएको र व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको स्वास्थ्य स्वयंसेविकाहरू अनुभव बताउनुहुन्छ।

मेचीनगरका स्वास्थ्य कर्मचारी भद्रिका बिसुङ्खे “ले समस्यामा परेर सेवा लिएका नागरिकहरूले आफ्नो समस्या खुलेर व्यक्त गर्न थालेका छन्। अभिभावकहरू पनि सचेत भएका छन्, जसले नागरिकको मानसिक स्वास्थ्य सुधारमा ठुलो भूमिका खेलेको बताउनुहुन्छ 

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीका अनुसार यो कार्यक्रम नगरपालिकाको प्रमुख प्राथमिकतामा पर्दछ। “स्वस्थ समाज निर्माणका लागि मानसिक स्वास्थ्यको ध्यान दिन आवश्यक छ। हामी यस कार्यक्रमलाई अझ व्यवस्थित र विस्तारित बनाउने तयारीमा छौं,” बुढाथोकीले भन्नुभयो।

नगरपालिकाले स्थानीय स्वास्थ्य केन्द्रहरूमा मनोपरामर्शदाता राख्ने, नियमित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यक परे थप विज्ञहरूसँग सहकार्य गर्ने योजनासमेत अघि सारेको छ।

परामर्श सेवाबाट लाभान्वित भएका व्यक्तिहरू कार्यक्रमप्रति सन्तुष्ट देखिएका छन्। एक स्थानीय महिला  भन्नुहुन्छ, “यस कार्यक्रमले मेरो परिवारलाई धेरै सहयोग गर्यो। पहिले म मानसिक तनावका कारण समस्यामा थिएँ, तर परामर्शपछि मेरो जीवनशैली परिवर्तन भएको छ।”

नगरपालिकाले आगामी दिनमा मनोपरामर्श केन्द्र स्थापना गर्ने, विद्यालयस्तरमा थप परामर्श सेवा प्रदान गर्ने र डिजिटल माध्यमबाट पनि परामर्श सेवा सञ्चालन गर्ने योजना बनाइरहेको छ।

यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

कार्यक्रममा मेचीनगर नगरपालिकाका कर्मचारीहरू तथा सरकारवालाहरू समेतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array