११ अर्ब ठगी गर्ने शिवकुमारकै अभिमत सहकारीले काठमाडौंमा पनि ठग्यो दुई अर्ब

अभिमतमा भएको ठगीमाथि अनुसन्धान गर्दै काठमाडौं प्रहरी परिसर, बचतकर्ताको उजुरीपछि काठमाडौं महानगरले गरेको अनुसन्धान प्रतिवेदन पनि परिसरमै पठाइयो
धरानस्थित बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड ४३ लाख ठगीका मुख्य अभियुक्त शिवकुमार लामिछाने (विश्वकर्मा)ले काठमाडौंमा पनि अर्को सहकारी चलाएर दुई अर्बभन्दा बढी ठगेको भेटिएको छ । उनले न्युरोडमा अभिमत बचत तथा ऋण सरकारी संस्था खेलेर बचतकर्ताको दुई अर्ब चार करोड ५१ लाख ठगी गरेको काठमाडौं महानगरपालिकाको अनुसन्धानमा खुलेको हो । शिवकुमारले ०७४ मा उक्त सहकारी खोलेका थिए । सहकारीको अध्यक्ष उनी आफैँ थिए । सहकारीको हरहिसाब हेर्दा कैफियत देखिएपछि थप अनुसन्धान गर्न महानगरले गत १६ साउनमा सिआइबीलाई सिफारिस गरेको थियो ।

‘अभिमत सहकारीले बचतकर्ताको रकम ठगी गरेको उजुरी हामीकहाँ आयो । महानगरबाट घटनाको छानबिन भयो । सहकारीले दुई अर्बभन्दा धेरै रकम अपचलन गरेको देखियो,’ काठमाडौं महानगरपालिकाका निर्देशक नमराज ढकालले भने, ‘घटनाको अनुसन्धान गर्न महानगरपालिकाले सिआइबीलाई सिफारिस गरेको छ । अनुसन्धान हुँदै होला ।’

बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) । उनले काठमाडौंको न्युरोडमा ०७४ मा खोलेको अभिमत सरकारीले बचतकर्ताको दुई अर्ब चार करोड ५१ लाख ठगी गरेको काठमाडौं महानगरपालिकाको अनुसन्धानमा खुलेको हो । प्रहरीले अनुसन्धान थालेपछि ठगीमा संलग्न सहकारीका अध्यक्ष शिवकुमार भएभरको सम्पत्तिसमेत बिक्री गरेर फरार भएका छन् । उनी विदेश फरार भएको अनुमान गरिएको छ । उनी मात्रै होइन, सहकारीका अन्य पदाधिकारी पनि फरार छन् ।

महानगरका अनुसार अभिमत सहकारीबाट ठगिएको भनेर एक हजार १८२ बचतकर्ताले उजुरी दिएका थिए । उजुरीपछि महानगरपालिकाले घटनाको आन्तरिक छानबिन गरेको थियो । अरू बचतकर्ता पनि ठगिएको हुन सक्ने भएकाले ठगी रकम अझै धेरै रहेको महानगरको अनुमान छ ।

‘अभिमतका दुई हजारभन्दा धेरै बचतकर्ता छन् । तीमध्ये कतिपयले अवैध धन पनि जम्मा गरेका छन् । सबै बचतकर्ताको जाहेरी आउने हो भने ठगीको रकम पाँच अर्बभन्दा माथि पुग्न सक्छ,’ महानगर स्रोतले भन्यो । महानगरबाट आएको सिफारिस सिआइबीले जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । अभिमतविरुद्ध विगतमै काठमाडौं परिसरले अनुसन्धान गरेकाले महानगरबाट प्राप्त थप विवरण पनि परिसरमै पठाइएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । परिसर प्रवक्ता एसपी अपिलराज बोहराले महानगरबाट आएको सिफारिससमेतलाई आधार मानेर अनुसन्धान भइरहेको बताए । ‘घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । जाहेरी आउने क्रम अझै पनि जारी छ । अनुसन्धानपछि मात्रै थप विवरणहरू भन्न सकिन्छ,’ उनले भने ।

बराह ग्रुपका सञ्चालक शिवकुमारकै नेतृत्वमा धरानमा सञ्चालित बराह सहकारीका बचतकर्ताको पौने ११ अर्ब हिनामिनामा व्यक्ति र पाँच कम्पनीसहित २६६ विरुद्ध बिहीबारै सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । शिवकुमारविरुद्ध मात्रै पाँच अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिगो कायम गरिएको छ । उनले सहकारीको रकम विभिन्न कम्पनीमा लगेर खर्च गरेको अनुसन्धानमा खुलिसकेको छ ।

नमराज ढकाल, निर्देशक, काठमाडौं महानगर
अभिमत सहकारीले बचतकर्ताको रकम ठगी गरेको उजुरी हामीकहाँ आयो । महानगरबाट घटनाको छानबिन भयो । सहकारीले दुई अर्बभन्दा धेरै रकम अपचलन गरेको देखियो । घटनाको अनुसन्धान गर्न महानगरपालिकाले सिआइबीलाई सिफारिस गरेको छ । nayapatrikabata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array