झापा, चैत २७ – राष्ट्रिय युवा संघ नेपाल झापा ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ। हत्या गर्ने योजनासहित भएको भनिएको उक्त आक्रमणमा आङ्देम्बे गम्भीर घाइते भएका छन् भने अन्य दुई जना विश्वदिप राजवंशी र अजय खवाससमेत घाइते भएका छन्।
घाइतेहरूको बिराटनगरस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। ईन्चार्ज आङ्देम्बे गम्भीर अवस्थामा आइसियुमा छन् भने राजवंशी र खवास अर्थो वार्डमा उपचाररत छन्। प्रत्यक्षदर्शीका अनुसार आङ्देम्बेमाथि खुकुरी प्रहार हुँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्य दुई जनाको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।
योजनाबद्ध आक्रमणको आशंका
घटनाको विवरण अनुसार, बिर्तामोड–४ का खगेन्द्र खालिङले राति करिब १ बजे आङ्देम्बेलाई आफ्नो घरमा बोलाएका थिए। चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार गरिएको बताइएको छ। आक्रमणको प्रत्यक्षदर्शी अजय खवासले भने, “आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार गरिएको थियो। जब मैले रोक्ने प्रयास गरेँ, मेरो हातका चार वटा औंला काटिएका छन्।”
यस्तै, अर्का घाइते राजवंशीमाथि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका समूहका चार जनाले आक्रमण गरेका थिए।
प्रहरी अनुसन्धानमा
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले संलग्नहरुको खोजी कार्य भइरहेको जानकारी दिएका छन्। “आक्रमणको अनुसन्धान तीव्र रुपमा अघि बढाइएको छ,” राईले बताए।
योजनाबद्ध देखिएको यस आक्रमणले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। घटनाको विस्तृत अनुसन्धान र दोषीमाथि कडा कारवाहीको माग स्थानीय समुदायबाट उठिरहेको छ। यता, अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।
आक्रमणको कारण र घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेकाले थप अनुसन्धानपछि मात्रै विस्तृत विवरण आउन सक्ने प्रहरीको भनाइ छ।