राजकुमार ओली।
बिर्तामोड, झापा।
शिक्षक हित सहकारी संस्था बिर्तामोडले आफ्नो १५औं स्थापना दिवसको अवसरमा सम्मान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
झापाको बिर्तामोडस्थित दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहकारीले रक्तदान कार्यक्रम गर्दै स्थापना दिवसको भव्य रुपमा सम्पन्न गरेको हो।medium wp-image-10546″ />
कार्यक्रममा ६० वर्ष पूरा गरेका १सय१० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको छ, जुन स्थानीय अस्पतालहरूमा रगतको अभाव कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा झापा जिल्ला समन्वय समितिका प्रमुख विश्व बराल, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्र कुमार संग्रौलाले रक्तदान गर्नेहरूलाई डिजिटल प्रविधिको माध्यमबाट प्रमाणपत्र वितरण गर्नुभएको थियो।
सहकारीका अध्यक्ष नारायण प्रसाद गौतम र उपाध्यक्ष हरिप्रसाद न्यौपानेले रगतदान गर्नेहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। साथै, नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्यालय बिर्तामोडमा आयोजित अर्को कार्यक्रम मार्फत सहकारीमा उत्कृष्ट योजना प्रस्तुत गर्ने सदस्यहरू र ६० वर्ष उमेर पूरा गरी शिक्षण पेशाबाट अवकाश पाएका जेष्ठ सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।
स्थानीय विद्यालय दमक पाणिनि माध्यमिक विद्यालयकी शिक्षिका दुर्गा काफ्लेले यस्तो सम्मानले शिक्षकहरूको योगदानको उच्च मूल्याङ्कन भएको बताउनुभयो।
अध्यक्ष गौतमले समाजमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष न्यौपानेले सहकारीमा उत्कृष्ट योगदान दिने सदस्यहरूको मनोबल उच्च राख्न यस्ता सम्मान कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउनुभयो।
हालसम्म सहकारीमा करिब ५ करोड रुपैयाँ बराबरको सेयर निक्षेप संकलन भइसकेको छ। झापा जिल्लाका करिब १५ सय शिक्षक तथा विद्यालय कर्मचारीहरू यस सहकारीमा आबद्ध छन्। पछिल्लो समय सहकारीमा देखिएका समस्याहरूलाई समाधान गर्दै संस्था सामाजिक गतिविधिमा सक्रिय देखिएको छ।
स्थापना दिवसमा सहकारीका सदस्य, शिक्षक, र स्थानीय समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहकार्य, सेवा, र एकताको भावना प्रवर्द्धन भएको छ।