झापा, बिर्तामोड – प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा अग्रज पत्रकार गोपाल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल झापा शाखालाई कार्यलय प्रयोजनका लागि एक थान सिलिङ पङ्खा हस्तान्तरण गर्नुभएको छ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य काफ्लेले पत्रकार उपचार सहयोग कोषमा १९ हजार ९ सय ८० रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ।
बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा आयोजित कार्यक्रममा काफ्लेले आफुले बिताएका दिनहरूको सम्झनामा प्रत्येक दिनका लागि एक रुपैयाँका दरले रकम जम्मा गरी सहयोग हस्तान्तरण गर्ने बताउनुभयो। उहाँले भने, “यस विशेष दिनमा मेरो प्यारो संगठनको जिल्ला कार्यालयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ। पत्रकार उपचार सहयोग कोषमा दिनको एक रुपैयाँका दरले रकम हस्तान्तरण गर्ने प्रतिबद्धता पनि जनाएको छु।”
कार्यक्रममा उपचार कोषकी संयोजक भिमा शिवाकोटीले काफ्लेको घोषणाले सामाजिक उत्तरदायित्वअनुरूप पत्रकार उपचार कोष वृद्धिमा योगदान पुग्ने बताउनुभयो। “यस्ता प्रेरणादायी कदमले नै समाज रुपान्तरणको थालनी हुन्छ,” शिवाकोटीले भनिन्।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल झापा जिल्ला कार्यसमितिकी उपाध्यक्ष सुनिरा मैनालीले गर्नुभएको थियो। कार्यक्रममा कोशी प्रदेशसभा सदस्य राजकुमार ओली, पत्रकार महासंघका उपाध्यक्ष सुव्रत न्यौपाने, सह–सचिव रमेश तिवारी, जिल्ला सदस्य भरत प्रसाई, अस्मिता साँखी, कबिचन्द्र गुरागाई, रवीकरण वान्तवा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सबैले काफ्लेको सामाजिक उत्तरदायित्वलाई सराहना गर्दै यस्ता कार्यले पत्रकारिता क्षेत्र र समाजमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।