काठमाडौँ – प्राध्यापक डा. युवराज सङ्ग्रौलाले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे स्वतन्त्र अनुसन्धान गर्न माग गरेका छन्।

काठमाडौँ स्कुल अफ ल (KSL) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस विषयमा राज्यका अनुसन्धान निकायले छानबिन गरे आफू जुनसुकै बेला सहकार्य गर्न तयार रहेको बताए।

अनुसन्धानको माग र मिडिया ट्रायलप्रति असन्तुष्टि

डा. सङ्ग्रौलाले सामाजिक सञ्जालमा उठाइएको आरोपलाई मिडियाले आधार बनाएर समाचार प्रकाशन गर्नु न्यायसंगत नभएको जिकिर गरे। उनले भने, “यदि राज्यका अनुसन्धान निकायले मलाई दोषी ठहर गर्छन् भने म आफूलाई कानूनी रूपमा प्रस्तुत गर्न तयार छु। तर, सामाजिक सञ्जालमा अमूर्तरूपमा लेखिएका सामग्रीलाई आधार बनाएर मिडियाले ट्रायल गर्नु गलत हो।”

उनले यदी साँच्चै कोही पीडित भए कानूनी निकायमा गुनासो लिएर जानुपर्ने भन्दै सामाजिक सञ्जालमा आएका सामग्रीलाई आधार मान्दा “राम्रा मानिसहरू अन्यायमा पर्ने” धारणा राखे।

“अनुसन्धान होस्, तर प्रमाणसहित”

डा. सङ्ग्रौलाले भने, “मेरो ३७ वर्षे शिक्षण जीवनमा कुनै अनुसन्धान निकायले यस्तो आरोपमा अनुसन्धान गर्न आवश्यक ठान्छ भने म आफूलाई हत्कडी लगाएर लैजान दिन्छु। तर, कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा आधारहीन गाली–बेइज्जती गरेर आरोप लगाउनु गलत हो।”

उनले थपे, “मैले कुनै अपराध गरेको छैन। यदि आरोप सत्य हो भने प्रमाण सहित कानूनी बाटोबाट अघि बढ्नुपर्छ। अन्यथा, सामाजिक सञ्जालको गलत प्रयोगले निर्दोष मानिसहरू पनि फस्न सक्छन्।”

छानबिन गर्न तीन सदस्यीय समिति गठन

यौन दुर्व्यवहारको आरोपबारे छानबिन गर्न काठमाडौँ स्कुल अफ ल (KSL) को व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ। समितिले घटनाको यथार्थ छानबिन गरी निष्कर्ष निकाल्ने बताइएको छ।

निष्कर्ष

डा. सङ्ग्रौलामाथिको आरोपबारे सामाजिक सञ्जालमा बहस भइरहेका बेला उनले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। के आरोप सत्य हुन् वा निराधार, यसबारे जाँचबुझ समितिको छानबिनपछि मात्र स्पष्ट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *