स्थानीय सञ्चार क्षेत्र सुधारका लागि कानुनी मापदण्ड आवश्यक

राजकुमार ओली।

झापा – झापाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले स्थानीय सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन कानुनी मापदण्ड, नीति निर्माण, र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालेका छन्।

पत्रकारिताको विश्वसनीयता, तथ्यमा आधारित लेखन, र डिजिटल माध्यममा फैलिने भ्रामक सूचनाको न्यूनीकरणका विषयमा केन्द्रित उक्त छलफल कार्यक्रममा विभिन्न स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बुद्धशान्ति, कचनकवल, हल्दिबारी, बाह्रदशी, झापा, कमल गाउँपालिकाका जनप्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा सञ्चार क्षेत्रमा सुधारका लागि ठोस नीति निर्माणको आवश्यकता औंल्याइयो। स्थानीय सञ्चार नीति कार्यान्वयनका लागि स्रोतसाधन परिचालन तथा योजनाबद्ध पहल आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्थानीय सञ्चार क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै सत्य–तथ्यमा आधारित पत्रकारिताको प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। साथै, उनले डिजिटल पत्रकारितालाई व्यवस्थित बनाउन कानुनी प्रावधान आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पछिल्लो समय झापाली पत्रकारिता तथ्यमा आधारित हुन नसकेको टिप्पणी गर्दै यसले लोकतन्त्रलाई समेत कमजोर बनाउन सक्ने चेतावनी दिए। उनले भने, “पत्रकारहरूको लेखाइ सत्यमा आधारित हुनुपर्छ। तथ्यहिन पत्रकारिताका कारण पत्रकारिता क्षेत्रको गरिमा घट्दै गएको छ।”

कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड कार्यवहाक प्रमुख नगेन्द्र संग्रौला, गौरादहका प्रमुख छत्रपति अधिकारी, अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुली, दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, हल्दिबारी अध्यक्ष रविन्द्र लिङदेन, झापा कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलिया, कचनकवल उपाध्यक्ष नवराज भट्टराई, र कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानले पनि स्थानीय सञ्चार माध्यमलाई व्यवस्थित गर्न नीति निर्माण र सहकार्य आवश्यक रहेको धारणा राखे।

सहभागीहरूको मतअनुसार, स्थानीय सञ्चार क्षेत्रको सशक्तिकरण तथा गुणस्तर सुधारका लागि सबै पक्षबीचको सहकार्य अनिवार्य छ। डिजिटल माध्यममा फैलिने भ्रामक समाचार न्यूनीकरण तथा जिम्मेवार पत्रकारिताका लागि नीति निर्माणमा स्थानीय सरकारको विशेष ध्यान जानुपर्ने उनीहरूको निष्कर्ष थियो।

कार्यक्रमले झापाका सञ्चार क्षेत्र सुधारका लागि महत्त्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको सहभागीहरूको बुझाइ देखिएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव हिमा चेम्जुङले सहभागीहरूको जवाफलाई सहजीकरण गरिरहेको थियो भने झापा जिल्लामा देखिएका सञ्चारका समस्याहरूलाई अध्यक्ष एकराज गिरीले पस्ट्याउँदै भोलिका दिनमा सञ्चार माध्यममा हुने चुनौती र सम्भावनाको बारेमा बहस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array