झापा-नेपाली कांग्रेसभित्र संविधानको प्रस्तावनामा नै हिन्दू राष्ट्र राख्ने विषयमा आन्तरिक छलफल तीव्र भएको छ । संविधान संशोधनको विषय उठिरहेका बेला कांग्रेसभित्र हिन्दू राष्ट्र राख्ने विषयले महत्व पाएको हो ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरेको थियो । नेपाल डेमोक्रटिक लयर्स एसोसिएसनले समेत संविधान संशोधनका विषयमा लिएको सुझावमा हिन्दू राष्ट्रको पक्षमा धारणा आएको छ ।
पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डाक्टर डिला संग्रौलाले सातवटै प्रदेशबाट संकलित सुझावसहितको प्रतिवेदन बुधबार काठमाडौँ आयोजित कार्यक्रमका बीच पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको बताउनुभयो ।
प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाबाट समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रणाली मात्र राख्न र संविधानको प्रस्तावनामा नै हिन्दू राष्ट्र लेख्न सुझाव दिइएको छ ।
२०७२ मा जारी नेपालको संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको थियो । त्यसको विषयमा कांग्रेसभित्र चर्को बहस हुँदै आएको छ । प्रादेशिक तहमा सङ्कलित सुझावमा समेत त्यसप्रति नेता कार्यकर्ताले असहमति जनाउँदै प्रस्तावनामा नै हिन्दू राष्ट्र लेख्न सुझाव दिएका छन् ।
प्रतिवेदनमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १६५ जना निर्वाचित हुने व्यवस्था गर्न समेत सुझाव दिइएको छ । संघीयतालाई थप बलियो बनाउन जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
विभागले ७० वर्ष पुगेकालाई जनप्रतिनिधि बन्न नपाउने व्यवस्था गर्न समेत सुझाव दिएको छ ।onlinebata savar