बिर्तामोड, झापा – झापाको बिर्तामोडस्थित त्रिदेव ट्रेड लिंक (त्रिदेव हार्डवेयर) मा सोमबार राजस्व अनुसन्धान कार्यालय, इटहरीले छापा मारेको छ।

स्थानीय प्रशासनका अनुसार राजस्व छलीको आशंकामा अनुसन्धानका लागि छापा मारिएको हो। छापा मार्ने क्रममा राजस्व अनुसन्धानका अधिकारीहरूले कम्पनीका वित्तीय कागजातहरू जाँच गरिरहेका छन्। पसल बन्द हुने दिन भए पनि अधिकारीहरू अनुसन्धानमा खटिएका छन्।

छापा मार्ने क्रममा सुरक्षा व्यवस्थालाई कडा पार्दै सशस्त्र प्रहरी बललाई तैनाथ गरिएको थियो। यस घटनाले स्थानीय व्यापारी र उपभोक्ताहरूको ध्यान तानेको छ।

स्थानीय व्यवसायीहरूका अनुसार बिर्तामोड क्षेत्रमा विगत केही समयदेखि राजस्व छल्ने गतिविधिहरूबारे विभिन्न गुनासा उठ्दै आएका थिए। व्यवसायीहरूले कर्सली गरेको र राजस्व चुहावट भइरहेको आरोप उपभोक्ताहरूबाट पनि पटक–पटक उठाइएको थियो।

राजस्व अनुसन्धान कार्यालयले त्रिदेव हार्डवेयरमा कस्ता अनियमितता फेला पार्‍यो र त्यसबारे के कारबाही अघि बढ्छ भन्ने विषयमा विस्तृत जानकारी आउन बाँकी छ। अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्र थप विवरण सार्वजनिक गरिने अधिकारीहरूले जनाएका छन्।

स्थानीय व्यवसायीहरू त्रासमा

बिर्तामोड क्षेत्रमा पछिल्लो समय राजस्व कार्यालयले सक्रियता बढाएपछि अन्य व्यवसायीहरू पनि सचेत भएका छन्। कानुनी प्रक्रिया पूरा नगर्ने व्यवसायिक प्रतिष्ठानहरू पनि अनुसन्धानको दायरामा पर्न सक्ने भन्दै व्यापारीहरूमा त्रास देखिएको छ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *