भद्रपुर, चैत १३ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा १ अर्ब ९८ करोड ९४ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो।
कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १ अर्ब ८४ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस वर्षको लक्ष्य ४ अर्ब ६१ लाख रुपैयाँ रहेको भए पनि हालसम्म सो लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ।
राजस्व सङ्कलनको विवरण
आयकरबाट – ८९ करोड २७ लाख ८५ हजार रुपैयाँ
ब्याजबाट – ६ करोड ९० लाख ९० हजार रुपैयाँ
मूल्य अभिवृद्धि कर (VAT) बाट – ६६ करोड ६५ लाख १५ हजार रुपैयाँ
अन्तःशुल्कबाट – ३३ करोड १८ लाख ४५ हजार रुपैयाँ
अन्तःशुल्क तिर्ने प्रतिष्ठानहरूको नियमित अनुगमन तथा निगरानीका कारण अन्तःशुल्क सङ्कलनमा ४३.७९ प्रतिशत वृद्धि भएको कर अधिकृत काफ्लेको भनाइ छ।
कार्यालयले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन बजार अनुगमनलाई निरन्तरता दिएको छ। साथै, कर बक्यौता राख्ने करदाताहरूका बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाहीका उपायहरू अपनाउने तयारी गरिएको छ।
सरकारले तोकेको राजस्व लक्ष्य पूरा गर्न सम्बन्धित निकायहरूले अझ प्रभावकारी उपायहरू अवलम्बन गर्ने अपेक्षा गरिएको छ।