मेचीनगर, चैत १३
झापाको मेचीनगर नगरपालिकाको चारआलीस्थित पाउपाथीभरा मन्दिर परिसरमा शिव महापुराण एघार दिवसीय ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ।
धार्मिक सहिष्णुता, मानवकल्याण, विश्वशान्ति तथा धार्मिक धामको सुदृढ व्यवस्थापनका लागि आगामी चैत १७ गते आइतबारदेखि चैत २७ गते बुधबारसम्म महायज्ञ आयोजना गरिने भएको छ।
पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिको आयोजनामा हुने महायज्ञमा पाठ-पारायण, भजन-कीर्तन तथा झाँकी सहित विविध धार्मिक कार्यक्रम हुनेछन्। पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालका अनुसार महायज्ञले पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धानलाई प्रवद्र्धन गर्नुका साथै धार्मिक संस्थाहरूलाई दीगो रूपमा सञ्चालन गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ।
महायज्ञ सम्पन्न गर्न १ सय १ सदस्यीय मूल समिति गठन
महायज्ञलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १७ वटा उपसमितिहरू निर्माण गरी तयारी पूरा भइसकेको छ। पूजाको व्यवस्थापन समितिका संयोजक यामनाथ बरालका अनुसार प्रत्येक वर्ष पाउपाथीभरा मन्दिर परिसरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको छ र यसै परम्परालाई निरन्तरता दिँदै यस वर्ष नवाह महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञ कार्यक्रम तालिका
चैत १७ गते (आइतबार) – महायज्ञको उद्घाटन
प्रत्येक दिन
कथा प्रवचन: बिहान ११:०० बजे – दिउँसो ३:०० बजे
नित्य पूजा: बिहान ७:०० बजे – १०:०० बजे
रात्रि जागरण: साँझ ७:०० बजे – ९:०० बजे
चैत २४ गते (रामनवमी) – सामूहिक व्रतबन्ध तथा गुन्युचोली कार्यक्रम
चैत ২৬ गते (मङ्गलबार) – लक्ष्यवर्तिदीप प्रज्वलन, श्रृङ्गार, आरती, महात्म्य आदि
चैत २७ गते (बुधबार) – पुरणावति, तिलक प्रसाद वितरण, गुरु पण्डित विदाइ तथा समापन समारोह
महायज्ञमा आचार्य बालकृष्ण अर्यालद्वारा कथा वाचन
महायज्ञको कथा वाचन आचार्य पं. बालकृष्ण अर्याल तथा पाठ पारायण पं. प्रदीप दवाडी द्वारा गरिनेछ। प्रचारप्रसार समितिका संयोजक रेवत कुमार दाहालका अनुसार महायज्ञलाई प्रभावकारी बनाउन स्थानीयस्तरका विभिन्न संघ-संस्था तथा भक्तजनहरूको सहयोग जुटाउने प्रयास भइरहेको छ।
महायज्ञ सम्पन्न गर्न अनुमानित १० लाख खर्च
महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक व्यवस्थापनका लागि पुराण व्यवस्थापन समितिले विभिन्न संघसंस्था, भक्तजनहरू तथा समाजसेवीहरूलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ।
महायज्ञ आयोजक समितिले धार्मिक आस्थाका साथ कार्यक्रम सम्पन्न गर्न सबै भक्तजनहरूलाई उपस्थित भई धर्मलाभ लिन अनुरोध गरेको छ।