कन्काईमा महिला हिंसा र स्वास्थ्य अभिमुखीकरण तालिम सम्पन्न

सरु मिश्र

कन्काई, झापा, १५ चैत्र – झापाको कन्काई नगरपालिकामा महिला हिंसा तथा प्रजनन स्वास्थ्यसम्बन्धी एकदिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
नगरपालिकाका सबै वडाका स्थानीय महिला तथा कृषक समूहको सहभागितामा सम्पन्न तालिममा कानुनी तथा सामाजिक चेतनासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको प्रमुख अतिथि कन्काई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी रहनुभएको थियो भने वडा नं. १ की वडा सदस्य तथा नगरकार्यपालिका सदस्य निर्मला खड्का को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष बलराम राई को समेत उपस्थिति थियो।

तालिम कन्काई नगरपालिकाको समन्वय, कारितास नेपाल को आयोजना तथा जमुनखाडी कृषि सहकारी संस्था लिमिटेड को सहयोगमा सम्पन्न भएको हो। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा विभिन्न वडाका ४५ जना भन्दा बढी स्थानीय तथा कृषक महिलाहरू को सहभागिता रहेको थियो।

कार्यक्रममा झापा बार इकाईकी सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत “सीता” प्रमुख प्रशिक्षक रहनुभएको थियो। साथै, समाजसेवी सुजन काफ्ले ले समेत प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षकहरूले महिला हिंसा न्यूनीकरण, कानुनी प्रक्रिया, तथा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका विषयमा जानकारी दिएका थिए।

यस अभिमुखीकरण तालिमले महिला हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्नका साथै, महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array