झापा । अमेरिकाले निष्कासन गरेका थप एक जना भुटानी शरणार्थी पक्राउ परेका छन्। ३० वर्षीय अशोक गुरुङलाई नेपाल प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
उनी भुटानबाट लखेटिएपछि भारत हुँदै नेपाल प्रवेश गर्न खोजिरहेका थिए।

सशस्त्र प्रहरीले गएराति ७:५० बजे मेचीनगर नगरपालिका–4 स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गुरुङलाई नियन्त्रणमा लिएको थियो। चेकजाँच गर्दा उनीसँग कुनै परिचय खुल्ने कागजात नभएको पाइएको छ। अमेरिकाबाट निष्कासित भएको बताउने गुरुङलाई राति ९ बजे सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई जिम्मा लगाएको छ।

यसअघि पनि अमेरिकाबाट निष्कासित तीन जना पूर्व शरणार्थी पक्राउ परिसकेका छन्। प्रहरीले शनिबार दमक–3 स्थित बेलडाँगी शरणार्थी शिविरबाट ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई अध्यागमन कार्यालय काँकडभिट्टा पठाइएको भए पनि हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

सूत्रहरूका अनुसार, अमेरिकाबाट निष्कासित १० जना भुटानी पूर्व शरणार्थीलाई भुटान सरकारले आफ्नो देशमा प्रवेश गर्न नदिई भारत हुँदै नेपालतर्फ धपाएको थियो। हालसम्म चार जना पक्राउ परिसकेकोमा बाँकी ६ जना भारतको सीमावर्ती बजार पानीट्यांकी क्षेत्रमा लुकेको हुनसक्ने आशंका गरिएको छ। सुरक्षा निकायहरू उनीहरूको खोजीमा जुटेका छन्।

यस घटनाले भुटानी शरणार्थी पुनर्वास प्रक्रियासँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय कानुनी तथा कूटनीतिक प्रश्नहरू उठाएको छ। नेपाल सरकार, अमेरिका, भुटान र भारतबीच यसबारे कूटनीतिक पहल आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *