सरु मिश्र ओली मेचीनगर
“असम्भव केही छैन!” यो वाक्य केवल प्रेरणाको स्रोत नभई वास्तविकताको रूपमा स्थापित गर्दैछिन् झापाकी नमिता बस्नेत। क्यान्सरजस्तो घातक रोगसँग संघर्ष गरिरहेकी उनी आफ्नो आत्मबल र हिम्मतको प्रतीकका रूपमा मेची-महाकाली साइकल यात्रा गर्दैछिन्।
चैत्र ३० गते, मेची पुलबाट सुरु हुने यो यात्रा सम्पूर्ण नेपालीलाई आत्मबल, सकारात्मक सोच, र साहसको प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको हो ।
क्यान्सरजस्तो जटिल रोगले धेरैलाई निराश बनाउँछ, तर नमिता बस्नेतले यो चुनौतीलाई आत्मबलमा बदल्दै यात्रा तय गर्ने निर्णय लिएकी छिन्। यस यात्रामा उनलाई कन्काई नगर परिवार, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सम्पूर्ण डाक्टर टिम, र शुभचिन्तकहरूको साथ तथा समर्थन प्राप्त छ।
यात्राको उद्देश्य क्यान्सर पीडितहरूलाई हौसला दिनु,मानसिक तथा शारीरिक रूपमा दृढ रहन प्रेरित गर्नु ,नेपालभरि सकारात्मक ऊर्जा फैलाउनु रस्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको देखिएको कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले पूर्व खबरलाई जानकारी दिनुभयो।
नमिता बस्नेतको यो साहसी निर्णयलाई स्थानीय तथा राष्ट्रिय स्तरमा व्यापक समर्थन मिलिरहेको छ। हनुमान जीको आशिर्वाद सँगै शुभचिन्तकहरूले उनको यात्रालाई सफलताको कामना गरेका छन्
“साहसलाई आत्मसात गरियो भने असम्भव केही छैन” भन्ने सन्देश बोकेर नमिता बस्नेतले सुरु गर्न लागेको यो यात्रा सम्पूर्ण नेपालीका लागि प्रेरणादायी बन्नेछ। उनको हिम्मत र दृढ संकल्पले क्यान्सर पीडितहरूलाई मात्र नभई हरेक नेपालीलाई जीवनसँग संघर्ष गर्न हौसला दिनेछ।
मेची पुलबाट सुरु भएको यो यात्राले महाकालीसम्म पुग्दा नयाँ इतिहास रच्नेछ!
