दुर्गा प्रसाईलाई काँकरभिट्टामा जिम्मा लगाउँदै भारतीय प्रहरी

सिलिगुढी, २९ चैत
– राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त भनिएका दुर्गा प्रसाईं भारतको आसामबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले भारतको आसाम राज्यबाट पक्राउ गरी उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउँदै गरेको स्रोतले जनाएको छ।

प्रहरीको निगरानी र गिरफ्तारी

प्रहरी स्रोतका अनुसार, तीनकुने घटनापछि फरार भएका प्रसाईंको ‘लोकेसन’ विभिन्न माध्यमबाट पहिल्याइएको थियो। उनी नेपालबाट भागेपछि पनि सामाजिक सञ्जालमार्फत दुईवटा भिडियो सार्वजनिक गरेका थिए, जसले प्रहरीको अनुसन्धानलाई झन् सक्रिय बनायो।

परिवारको दाबी: पक्राउ होइन, आत्मसमर्पण

प्रसाईंको परिवारले पनि उनी प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेको छ। तर, परिवारका एक सदस्यका अनुसार, प्रसाईं पक्राउ परेका होइनन्, बरु सुरक्षाका लागि स्वयं आसाम प्रहरीको सम्पर्कमा पुगेका हुन्।

सहयोगीहरू आफैं नेपाल फर्कँदै

प्रसाईंसँगै भागेका उनका केही सहयोगीहरू भने अहिले आफैं नेपाल फर्कने तयारीमा रहेको स्रोतको दाबी छ।

नेपाल प्रहरीको कारबाही प्रक्रिया

तीनकुने घटनापछि नेपाल प्रहरीले प्रसाईंलाई पक्राउ गर्न विशेष रणनीति अपनाएको थियो। उनको गतिविधि ट्र्याक गर्दै प्रहरीले अन्ततः भारतमा उनी लुकेको लोकेसन पहिचान गरी गिरफ्तारी प्रक्रिया अगाडि बढाएको थियो।

तीनकुने हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंको पक्राउले अनुसन्धानको नयाँ मोड लिने देखिएको छ। अब उनलाई नेपाल ल्याएर अदालती प्रक्रिया अघि बढाइनेछ, जसले घटनाको थप विवरण बाहिर ल्याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array