मनोसामाजिक परामर्श तालिमले कमलका महिलाहरू उत्साहित

राजकुमार ओली, २९ चैत्र

दमक
झापाको कमल गाउँपालिकामा अगुवा महिलाहरूलाई लक्षित गरी दुई दिने मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ।
समावेशी महिला सशक्तिकरण केन्द्रको सहजीकरणमा आयोजित सो तालिम कमल ३ स्थित सिद्धार्थ सभा हलमा सञ्चालन गरिएको थियो।

तालिमका क्रममा मानसिक तथा मनोसामाजिक समस्याका कारण, लक्षण र व्यवस्थापनका उपायहरूबारे छलफल गरिएको थियो।
तनाव व्यवस्थापनका विधिहरूमा समेत सहभागिता गराइएको सो तालिमले महिलाहरूलाई मानसिक स्वास्थ्यप्रति सचेत बनाउनुका साथै परामर्श सेवा आवश्यक पर्ने व्यक्तिहरूलाई पहिचान गरी सही निकायमा पठाउने ज्ञान अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।

तालिममा कमलकी जनप्रतिनिधि जमुना खतिवडा, महिला सदस्य गोमा विश्वकर्मा तथा सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष राजन राई लगायत स्थानीय अगुवाहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले सिकेका ज्ञानलाई टोल टोलमा एवं लक्षित समुदायमा बाँड्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका सहभागीहरूले आगामी दिनहरूमा आवश्यकतालाई मध्यनजर गर्दै थप तालिमहरू समेत आवश्यक रहेकोले गाउँपालिकालाई थप बजेट विनियोजन गर्दै अझ उत्कृष्ट र परिष्कृत किसिमबाट प्रशिक्षण थप गर्न प्रतिबद्धता अनुरोध गरेका छन् ।

तालिमको प्रशिक्षण मेचीनगर नगरपालिकाकी अधिकृत एवं मनोविद् सरस्वती मिश्र ओलीले दिएकी थिइन्। कार्यक्रमबारे बोल्दै कमल गाउँपालिका वडा नं. ५ का अध्यक्ष अग्नि कोइराला, कमल चारका वडाध्यक्ष भट्टराईले मनोसामाजिक परामर्श तालिमलाई गाउँगाउँमा पु¥याउने लक्ष्य राखिएको बताए। गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले लक्षित समुदायका लागि यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै टोलस्तरमा कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिइन्।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईका अनुसार विगतमा वैदेशिक रोजगारीमा गएका युवा तथा उनीहरूका परिवारमा विभिन्न मनोसामाजिक समस्या देखिएकोले यस्ता तालिमहरू सञ्चालन गर्न थालिएको हो। उनले मनोसामाजिक समस्या समाधानका लागि गाउँपालिकाले आगामी दिनहरूमा समेत निरन्तर कार्यक्रम सञ्चालन गर्ने बताए।

तालिममा सहभागी स्थानीय अगुवा सिर्जना ढकाल दाहालले कार्यक्रमले समाजमा हेलित, अपमानित एवं उपेक्षित समुदायको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। सहभागीहरूले तालिम उत्कृष्ट भएको प्रतिक्रिया दिँदै यसले टोलस्तरमा रहेका र देखिएका मानसिक समस्याहरू समाधान गर्न ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array