गणेश ढुङ्गाना
झापा, चैत २९ – नेकपा एमालेले दमकमा आयोजना गर्न लागेको जनजागरण सभामा करिब एक लाख जनताको उपस्थिति रहने अपेक्षा गरिएको छ।
भोली चैत ३० गते दमकको पशुहाट मैदानमा हुने उक्त सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली गरिएको छ। दमकबाट सुरु भएको यो र्याली गौरीगन्जमा पुगेर सम्पन्न भएको थियो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इञ्चार्ज शेरधन राईका अनुसार कोशी प्रदेशका सबै जिल्लाबाट सहभागीहरूको व्यापक उपस्थिति रहनेछ। सभाको मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विरोधी तत्वहरूलाई सशक्त जवाफ दिनु रहेको बताइएको छ।
संघीय गणतन्त्रको रक्षा र सशक्त खबरदारी
दमकमा भएको पत्रकार सम्मेलनमा प्रेस चौतारी नेपालले गरेको जानकारी अनुसार, शेरधन राईले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै त्यसको रक्षा गर्न सभा आयोजना गरिएको बताए। उनले चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराइने बताए।
“हामीले स्थापना गरेको संघीय गणतन्त्र कुनै व्यक्तिको दया वा कृपाले आएको होइन, यो जनताको बलिदानको उपज हो। त्यसैले यसको रक्षा गर्नु हाम्रो दायित्व हो,” राईले भने। उनले प्रतिगमनकारी शक्तिहरूलाई जवाफ दिन नेपाली जनता जुनसुकै मूल्य चुकाउन तयार रहेको पनि उल्लेख गरे।
किन दमकमा सभा?
शेरधन राईका अनुसार हाल मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व दमकले गरिरहेको छ। उनले भने, “सिङ्गो मुलुकको नेतृत्व अहिले दमकले गरिरहेको छ। दमक नै अहिले विभिन्न शक्तिहरूको निशानामा परेको छ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि केन्द्रित आक्रमणहरूलाई चिर्न यो सभा आयोजना गरिएको हो।”
राईले थपे, “हामीले परिवर्तन पछि मुलुकमा पाएका उपलब्धिहरू सुधार गर्नुपर्छ। राजतन्त्रको पालामा जनताको जीवनस्तर के थियो र परिवर्तनपछि अहिले के छ भन्ने कुरा हामीले स्पष्ट पार्नेछौं।”
उल्लेख्य सहभागिता र कार्यक्रम
सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लाबाट उल्लेख्य संख्यामा जनताको सहभागिता रहनेछ। पूर्वी भागबाट सहभागीहरूलाई रतुवा पुल हुँदै र पश्चिमी भागबाट आउनेहरूलाई पश्चिम स्टेन हुँदै सभा स्थलमा प्रवेश गराइनेछ।
सभामा विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिनेछ भने चर्चित कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ। सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।