प्रधानमन्त्री ओलीको घोषणा : ‘राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर छ मुलुक’

दमक, झापा ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश अहिले राजनीतिक स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढिरहेको बताएका छन्। कोशी प्रदेश कमिटीले शनिबार दमकमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ठूला दलहरूको सहभागितामा गठन भएको भन्दै यसले स्थायित्वको जग बसाल्न थालेको दाबी गरे।

सभामा मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पार्ने तत्वहरूप्रति कटाक्ष गर्दै भने, “तमासा देखाउनेहरूले ड्राइभिङ सिक्नु अगाडि नै गाडी हाँक्न खोजेजस्तै राजनीति पनि ढुङ्गा हानेर चलाउन खोजे, तर जनताले उनीहरूलाई पत्याएनन्।”

तीनकुनेमा चैत १५ गते भएको अराजक घटनालाई इंगित गर्दै प्रधानमन्त्री ओलीले देश तोड्ने सोच बोकेकाहरूको असली अनुहार त्यही दिन प्रस्ट देखिएको बताए। उनले वर्तमान सरकारलाई जनताको अभिमतको प्रतिबिम्बका रूपमा चित्रण गर्दै भने, “विगतमा स्वार्थी र फुटवादीहरूले पार्टीलाई सिध्याउने प्रयास गरेका थिए, तर अब हामी स्थायित्वको अठोटसाथ अघि बढेका छौं।”

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा आर्थिक स्थायित्वलाई सरकारको प्राथमिकतामा राखिएको बताए। उनले राष्ट्र निर्माणका आगामी नीति तथा कार्यक्रममा नयाँ ढाँचाको मार्गचित्र समावेश गरिने जानकारी दिँदै भने, “नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुनेछ।”

भूमिहीन सुकुमबासीका समस्या समाधान गर्न संसद्को आगामी अधिवेशनको सुरुमै विशेष कानुन ल्याइने घोषणा गर्दै प्रधानमन्त्री ओलीले गरिबी अन्त्यका लागि सरकार गम्भीरतापूर्वक क्रियाशील रहेको बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूर्ण गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “एमाले विनाको समृद्ध नेपालको सपना अधुरो रहन्छ। एमाले असफल भए देश असफल हुन्छ।”

कोशी प्रदेशलाई विविधतायुक्त र जागरुक प्रदेशको रूपमा व्याख्या गर्दै उनले प्रदेश र मातहतका सबै कमिटीहरूलाई अझ उत्साही र सक्रिय भएर काम गर्न निर्देशन दिए। युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलता विकासमा जोड दिनुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्रीले आत्मनिर्भरताको भावना आवश्यक भएको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा काठमाडौंमा युवा महोत्सव आयोजना गरिने जानकारी पनि गराए। उनले ४० वर्षमुनिका सम्पूर्ण युवालाई उक्त दिन काठमाडौंमा उपस्थित भई लोकतन्त्रको विजयको उत्सव मनाउन आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array