राजकुमार ओली, ३१ चैत, बिर्तामोड
आर्थिक मन्दीको चुनौतीबीच पनि झापा जिल्लाका उत्साही युवाहरूको संकल्पले मूर्त रूप लिएको छ—बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड। बिर्तामोड–४ मा रहेको कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक भव्य समारोहबीच कोशी प्रदेशका सांसदद्वय चिन्तन पाठक र छवि चुडालले संयुक्त रूपमा कम्पनीको औपचारिक उद्घाटन गरे।

युवा सशक्तीकरणको नयाँ अध्याय
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद चिन्तन पाठकले आर्थिक विकासको मेरुदण्ड नै युवाको सक्रियता भएको उल्लेख गरे। “सहकारी आन्दोलन र लगानी प्रवाहमा युवाहरूको अग्रसरता देशकै भविष्यको संकेत हो,” सांसद पाठकले भने, “संजीवनी कम्पनी जस्ता पहलले स्थानीय रोजगारी, पुँजी परिचालन र आर्थिक स्वावलम्बनमा योगदान पुर्‍याउनेछन्।”

त्यस्तै, विशेष अतिथि सांसद छवि चुडालले युवाको अग्रसरतालाई प्रदेश सरकारबाट समेत सहयोग र समन्वय गर्न आफू प्रतिबद्ध रहेको जनाइन्। उनले भनिन्, “झापामा युवाहरूले आर्थिक क्षेत्रमा जुन सकारात्मक प्रयोग थालेका छन्, त्यो प्रदेशको समृद्धि यात्रासँग जोडिएको छ।”

लगानीकर्ताको उत्साहजनक सहभागिता
कम्पनीका अध्यक्ष यामकुमार चुडालका अनुसार संजीवनी इन्भेष्टमेण्ट कम्पनी पब्लिक लिमिटेड कम्पनीको रूपमा गत असोज २२ गते विधिवत रूपमा दर्ता भएको हो। कम्पनीमा ११४ जना विभिन्न पेशामा आवद्ध लगानीकर्ताको सहभागिता छ।
कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रुपैयाँ रहेको छ। कम्पनीले राइट सेयर र आईपीओमार्फत पूँजी विस्तार गर्दै पूर्वी नेपालको अग्रणी लगानी संस्था बन्ने लक्ष्य लिएको छ।

विविध क्षेत्रमा लगानीको तयारी
कम्पनीका सचिव दिनेशकुमार सुवेदीले कम्पनीले बैंक तथा वित्तीय संस्था, सेयर बजार, हाउजिङ्ग परियोजना, व्यापारिक कम्प्लेक्स, जलविद्युत्, शिक्षा, स्वास्थ्य, कृषि, अनुसन्धान र सरकारी–निजी परियोजनामा सहभागिता जनाउने जानकारी दिए।

सशक्त उपस्थिति, दृढ विश्वास
समारोहमा जिल्ला समन्वय समितिका पूर्वअध्यक्ष सोमनाथ प्रोतेल, नेप्सकुन झापाका अध्यक्ष तुलाराम न्यौपाने, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य राजकुमार ओली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्ले लगायतको सहभागिता थियो। वक्ताहरूले झापामा सहकारी र लगानी आन्दोलनमा युवाको सक्रियता भविष्यका लागि आशाजनक रहेको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *