राजकुमार ओली
झापा, ३ बैशाख (धाइजन) । नेपाली विविधतायुक्त सांस्कृतिक पहिचानको संरक्षणमा संघीय लोकतान्त्रिक गणतन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सभामुख देवराज घिमिरेले बताएका छन्। बुधबार झापाको मेचीनगरमा आयोजित लोपोन्मुख मेचे समुदायको महान राष्ट्रिय पर्व बैशागु बथर तथा बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान सभाबाट घोषणा गरिएको संघीय प्रणालीकै कारण सबै जातजातिले आफ्नो धर्म, संस्कार, रीतिरिवाज खुला र भव्यरूपमा मनाउन पाएको बताए।
मेचे समाज शिवियारी आफातको नवनिर्मित भवन उद्घाटनको अवसरमा सभामुख घिमिरेले जातीय एकतालाई भड्काउने तत्वहरूबाट सचेत रहनसमेत आग्रह गरे। “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। हरेक जातिको मौलिकता, संस्कार, कला, धर्मको सम्मान गर्दै अघि बढ्नुपर्छ,” उनले भने।
संविधानको मर्म र भावना अनुसार अघि बढ्दै सम्पूर्ण समुदायको धर्म-संस्कृति संरक्षण गर्न एकजुट हुनुपर्नेमा उनको जोड थियो। “लोपोन्मुख मेचे समुदाय जस्ता पहिचान जोखिममा परेका जातिहरूलाई संरक्षण गर्नु सरकारको दायित्व हो,” सभामुख घिमिरेले भने, “हराएका समुदाय जोगिएनन् भने समृद्ध नेपालको परिकल्पना अधुरो रहन्छ।”
उपप्रमुखको आँकडा– झापामै सबैभन्दा धेरै मेचे
कार्यक्रमकी विशिष्ट अतिथि मेचीनगरकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले झापा र मोरङमा मात्र बसोबास गर्दै आएको मेचे समुदायको संरक्षण अपरिहार्य भएको बताइन्। उनले राष्ट्रिय जनगणना २०७८ अनुसार ५,१९३ जनसंख्या भएको मेचे समुदायमध्ये करिब २,००० जना मेचीनगर क्षेत्रमा मात्रै बसोबास गर्ने जानकारी दिइन्।
“हाम्रा मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ,” उपप्रमुख उप्रतीले भनिन्, “यस्ता मौलिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने काम गर्छन्।”
संवेदनशील नारासहितको भव्य आयोजनामा विशिष्ट उपस्थिति
‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आव्हानः पहिचान सहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रमुख विष्णुप्रसाद प्रसाई, प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचे, भारतका पूर्व सांसद सांसुमा खुंगुर बसुमथरी, मेचे महिला उत्थान संघकी अध्यक्ष नुमा मेचे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजसेवी नरेन्द्र मेचे गछम, बुद्धलाल मेचे र विशु मेचेलाई जग्गा दानमा योगदान दिएबापत सम्मान गरिएको थियो भने २०८० सालको एसइई परीक्षामा मेचे समुदायबाट सर्वोत्कृष्ट अंक ल्याउने आईस्था मेचे, दीपा मेचे, अञ्जलि मेचे, गरिमा मेचे र प्रकृति मेचे लाई पुरस्कृत गरिएको थियो।