नेकपा एमालेको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि विभागको आयोजनामा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी आगामी जेठ १ गतेदेखि ३ गतेसम्म बिर्तामोडमा हुने भएको छ।

विभाग प्रमुख गणेश पोख्रेलका अनुसार प्रदर्शनी बिर्तामोडस्थित देवी माविको प्राङ्गणमा आयोजना गरिनेछ। एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिने उक्त प्रदर्शनीमा प्रदेशभरका १० वटा जिल्लाबाट १०/१० विद्यालय र आयोजक जिल्ला झापाबाट थप १० विद्यालयसहित १५० वटा विद्यालय सहभागी हुनेछन्।

प्रदर्शनीमा झण्डै ५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने विभाग प्रमुख पोख्रेलले जानकारी दिए। विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको कार्यक्रमले नवप्रवर्तन र अनुसन्धानमा प्रेरणा दिने अपेक्षा गरिएको छ।

उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्ने चार विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यस्तै, २५ वटा विद्यालयलाई सान्त्वना स्वरूप जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

विज्ञान र प्रविधिप्रतिको विद्यार्थीको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी कोशी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक विज्ञान महोत्सव हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *