झापामा मिडिया संकट र समाधानमाथि सम्पादकहरुको संयुक्त आवाज : प्रेस स्वतन्त्रताको संरक्षणमा ३ बुँदे प्रतिवद्धता
झापा ।
प्रेस चौतारी नेपाल झापाको आयोजनामा सोमबार भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा छापा, रेडियो र टेलिभिजनका सम्पादकहरुले वर्तमान मिडिया संकट, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र समाधानका उपायमाथि वृहद् छलफल गरेका छन्।
झापाका प्रमुख सञ्चार संस्थाका सम्पादकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता विरुद्ध भइरहेका हस्तक्षेपको सामूहिक प्रतिवाद गर्दै तीन बुँदे प्रतिवद्धता सार्वजनिक गरिएको छ।
३ बुँदे प्रतिवद्धता यस्तो छ:
१. झापाली सञ्चारकर्मीबीच एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउने।
२. कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले थलिएको मिडिया क्षेत्रलाई जोगाउन स्थानीय सरकार, उद्योगी, व्यवसायी र सरोकारवालासँग सहकार्य गर्ने।
३. प्रेस स्वतन्त्रता विरोधी गतिविधिहरुको एकजुट भएर प्रतिवाद गर्ने।
कार्यक्रममा बोल्दै प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले मिडिया संरक्षण सामूहिक जिम्मेवारी भएकाले सम्पादकहरुसँग प्रत्यक्ष संवादको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा ‘मेरो रेडियो’का सञ्चालक तथा सम्पादक कुमार भट्टराईले प्रस्तुत गरेको ३ बुँदे प्रतिवद्धता प्रस्तावमा सहभागी सम्पादकहरुले एकमत सहमति जनाएका थिए।
सहभागी सम्पादकहरुमा प्रतिदिन दैनिकका इन्द्रसिंह राजवंशी, रेडियो विराटका लिला अनमोल, सुखानीका राजु पाठक, सुर्योदय टिभीका राजु पौडेल, स्वतन्त्र आवाज साप्ताहिकका योगेश खपांगी, रेडियो मन्त्रका ज्ञानेन्द्र निरौला, यलम्बर टाइम्सका दिपीन राई लगायत थिए। उनीहरुले मिडिया संकटको समाधान सामूहिक प्रतिबद्धता र आन्तरिक सुधारबाट मात्र सम्भव हुनेमा जोड दिएका थिए।
सम्पादकहरुले समाचार संकलनमा मेहनत, प्रविधिको प्रयोग, स्थानीय विज्ञापन स्थानीय मिडियामै, विज्ञापनलाई समाचार नबनाउने र आचरणमा सुधारसहित व्यवसायिक पत्रकारितामा जोड दिनुपर्नेमा विशेष ध्यानाकर्षण गराए।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारीका केन्द्रीय सदस्य माधव विद्रोहीले पत्रकारहरुले आफ्नै संस्थालाई ब्राण्डका रूपमा विकास गर्नुपर्ने बताए। “मिडिया बलियो भए मात्रै नागरिकको आवाज बलियो हुन्छ,” उनले भने।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् प्रेस चौतारी नेता सुब्रत न्यौपानले झापाको सञ्चार माध्यमको अवस्था, अवसर र चुनौतीमाथि विषय प्रवेश गराएका थिए। चौतारी झापाका उपाध्यक्ष राजु पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव युवराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।