झापाको भद्रपुर नाकाबाट भन्सार छल्दै ल्याइएको मोबाइल पार्ट्ससहितको पिकअप नियन्त्रणमा
– पूर्वखबर संवाददाता, झापा

झापा जिल्लाको भद्रपुर–५ दोभान नाकाबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित एक पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र घोडामारा प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले शनिबार राति ८ बजे भद्रपुर–९ घोडामाराबाट बा १८ च ४६१६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो। गाडीमा २० कार्टुन मोबाइल पार्ट्स लोड गरिएको थियो।

प्रहरीले पिकअप गाडीका चालक भद्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय राहुल कामतलाई समेत नियन्त्रणमा लिएको छ। बरामद गरिएको सामानको अनुमानित मूल्य २९ लाख ८७ हजार दुई सय रुपैयाँ र गाडीको मूल्य ५ लाख रुपैयाँ तोकिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार सामान, गाडी र चालकलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ।

डिएसपी खड्काका अनुसार, सुरुमा भन्सार बुझाउन भद्रपुर भन्सार कार्यालय लगिएको थियो। तर, उक्त कार्यालयले १० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान नबुझ्ने र चालक नबुझ्ने भन्दै अस्वीकार गरेपछि मेची भन्सार पठाउनु परेको हो।

यता, इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको अर्को टोलीले शनिबार राति करिब १० बजे अर्जुनधारा नगरपालिका–६ स्थित छाताचोकबाट बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखिएको मोबाइल र मोबाइल पार्ट्स बरामद गरेको छ। सो सामानको अनुमानित मूल्य १८ लाख १० हजार २ सय ५० रुपैयाँ बराबर रहेको छ। ती सामानहरू समेत मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

भन्सार छल्ने र आर्थिक अपारदर्शितामा संलग्न यस्ता कार्यहरू विरुद्ध प्रहरीले सक्रियता बढाएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *