रबिन ओली बिर्तामोड, झापा –
लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता निरज कुमार ओली र प्रथम महिला निरु उप्रेती ओलीले आफ्नो वैवाहिक वर्षगाँठलाई विशेष बनाउँदै मानव सेवाको उदाहरणीय कार्य गरेका छन्।

उनीहरूले श्री पाऊ पाथीभरा मन्दिर चारआली परिसरमा आश्रय लिएका असाह्य तथा जेष्ठ आमाबुबालाई लत्ताकपडा, मिठाइ तथा खाद्यान्न वितरण गरेर वैवाहिक वर्षगाँठ मनाएका हुन्। उक्त अवसरमा वृद्धबृद्धालाई आत्मीयताको साथ भोजनसमेत गराइएको थियो।

सामाजिक सेवामा निरन्तर अग्रसर रहँदै आउनुभएका ओली दम्पत्तीले “जीवनको साँचो खुशी अरुको अनुहारमा मुस्कान ल्याउँदा प्राप्त हुन्छ” भन्ने विश्वासका साथ वर्षगाँठलाई सेवा–भावले भरिएको बनाएका हुन्। बिर्तामोडमा सामाजिक सद्भाव, सहयोग र नेतृत्व क्षमताका लागि परिचित रहेका निरज ओलीले समाजप्रति आफ्नो उत्तरदायित्वलाई अझ सशक्त बनाउने बताए।

लायन्स क्लब अफ बिर्तामोड सिटीका वर्तमान अध्यक्ष उपेन्द्र बानियाले “हाम्रो कर्म नै सेवा हो, त्यसैले यस्ता मानवीय अभियानलाई अझ तीव्र बनाइँदैछ” भनी पूर्व खबरसँग प्रतिक्रिया दिएका छन्।

सहयोग, संवेदना र मानवीय भावनाको प्रतीक बनेको यो कार्यक्रमले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वप्रति सशक्त सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *