इनरुवा, सुनसरी – नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदायविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिकाे कडा भर्त्सना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरिएको हो। संगठनका अनुसार यादवले काठमाडौँको एक सार्वजनिक कार्यक्रममा ‘बर्मामा पाँच लाख मुसलमान मारिएझैं नेपालमा पनि सबै मुसलमान मार्ने’ भनी दिएको अभिव्यक्तिले सम्पूर्ण मुस्लिम समुदायको आत्मसम्मानमाथि गम्भीर चोट पुर्याएको छ।
वीरगञ्ज घटनाले चर्काएको आक्रोश
ज्ञापनपत्रमा हालै वीरगञ्जको छपकैयामा हनुमान जयन्ती शोभायात्राका क्रममा उत्पन्न हिंसात्मक घटनालाई पनि उल्लेख गरिएको छ। शान्तिपूर्ण धार्मिक समारोहको नाममा हतियारसहितको समूह मुस्लिम बस्तीमा पसेर आतंक सिर्जना गरेको, पसल तथा घरहरू तोडफोड गरिएको, र धम्कीपूर्ण शैलीमा हिंसा मच्चाइएको भन्दै संगठनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको हो।
“सो घटनाले समाजमा सम्प्रदायबीचको आपसी सद्भावमा गम्भीर खलल पुर्याएको छ,” संगठनका अध्यक्ष तुफेल अहमदले बताए। उनका अनुसार, धार्मिक विविधता र सहिष्णुता नेपालको सामाजिक पहिचान हो, तर यस प्रकारका अतिवादी गतिविधिले सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतामा खतरा उत्पन्न गरिरहेको छ।
अतिवादी संगठनमाथि प्रतिबन्धको माग
ज्ञापनपत्रमार्फत मुस्लिम इत्तेहाद संगठनले सम्राट सेना, करणी सेना लगायत अतिवादी समूहहरूको गैरकानुनी गतिविधिमाथि तत्काल नियन्त्रण गर्न, कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न आग्रह गरेको छ। साथै, भविष्यमा यस्ता गतिविधि पुनः नदोहोरियोस् भन्ने उद्देश्यले दीर्घकालीन र प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
सुरक्षा प्रत्याभूति र शान्ति कायम गर्न माग
संगठनले मुस्लिम समुदायको सामुदायिक सुरक्षाको प्रत्याभूति, धार्मिक प्रदर्शनहरूमा पूर्वनिर्धारित र सुरक्षित रुटअनुसार मात्र सञ्चालन सुनिश्चित गर्नुपर्ने माग राखेको छ। साथै, समुदायबीच सद्भाव कायम राख्न सार्वजनिक अभिव्यक्तिमा संयमता र जवाफदेहिता अनिवार्य बनाइनुपर्ने पनि उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “शान्ति सुव्यवस्थामा खलल पुर्याउने, समाजमा विष घोल्ने, जातीय वा धार्मिक द्वन्द्व चर्काउने जोसुकै भए पनि राज्यले अब सहनु हुँदैन। सबै समुदायबीच आपसी सम्मान र भाइचाराबाट मात्र दिगो शान्ति सम्भव हुन्छ।”