सरस्वती मिश्र
बिर्तामोड, १० वैशाख – झापाको बिर्तामोड नगरपालिका–५ स्थित किरातचोकमा रहेको क्षितिज महिला विकास समाज सुधार केन्द्रमा बस्दै आएकी इलामकी जीवनकला काफ्लेको रहस्यमय निधन भएको छ।
इलाम नगरपालिका–४, बरबोटेकी ५० वर्षीया काफ्ले विगत तीन महिनादेखि सो सुधार केन्द्रमा उपचाररत बस्दै आएकी थिइन्।
परिवारका सदस्य र स्थानीय स्रोतका अनुसार सोमबार राति करिब १० बजेतिर अचानक लडेर घाइते भएकी काफ्लेलाई सुरुमा बिर्तामोडस्थित मनमोहन अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिएनसी मेडिकल कलेज लगिएको थियो जहाँ राति १०:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सुधार केन्द्रकी सञ्चालक तिलरुपा कार्की कटुवालले काफ्लेलाई तत्काल अस्पताल पुर्याइएको दाबी गरे पनि काफ्लेको मृत्युको कारण रहस्यमय भएको भन्दै उनका परिवारले छानबिनको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय बिर्तामोडले पूर्व खबरसँग कुरा गर्दै घटनालाई गम्भीर रूपमा लिएर सूक्ष्म अनुसन्धान अगाडि बढाइएको जनाएको छ। “परिवारको शंका र घटनाको संवेदनशीलतालाई ध्यानमा राखेर हामी अनुसन्धानमा लागिरहेका छौं,” प्रहरी स्रोतले जनाएको छ।
काफ्लेको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। प्रहरी अनुसन्धान रिपोर्ट र पोस्टमार्टम नतिजापछि मात्र मृत्युको कारणबारे यकिन गर्न सकिने जनाइएको छ।
पछिल्लो समय सुधारगृहभित्र बसेका महिला तथा आश्रितहरूको सुरक्षामाथि पनि प्रश्न उठ्न थालेको छ। मानव अधिकारकर्मीहरूले घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्।