बिर्तामोड, वैशाख १२ — झापा जिल्ला सहकारी संघको सचिव पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा युवराज गिरीले भोलि (वैशाख १३) हुने निर्वाचनमा उम्मेदवारी दिएका छन्। सहकारीमा सुशासन, पारदर्शिता र अपनत्व स्थापना गर्ने मुख्य उद्देश्यसहित उनले स्वतन्त्र उम्मेदवारी दिएको घोषणा गरेका हुन्।
गिरीले झापाभर छरिएर रहेका प्रारम्भिक सहकारी संस्थामा देखिएका विविध समस्या समाधान गर्दै संघलाई सुदृढ छाता संस्थाको रूपमा स्थापित गर्ने दुरदृष्टिका साथ उम्मेदवारी दिएको बताए।
—
अनुभव र नेतृत्व क्षमताले भरिपूर्ण उम्मेदवार
वि.सं. २०३५ साल जेठ १२ गते झापाको बाह्रदशी गाउँपालिका–५, कुवाडीमा जन्मिएका गिरी सहकारी अभियानसँग २०६० सालदेखि जोडिएका छन्।
वि.सं. २०६५ मा श्री पतालगंगा बचत तथा ऋण सहकारी संस्था स्थापना गरी सहकारी क्षेत्रमा सक्रिय रहेका उनी हाल सोही संस्थाका अध्यक्षसमेत हुन्।
गिरीले आफ्नो समर्पण र नेतृत्व क्षमताको प्रदर्शन विभिन्न संघसंस्थामा गरिसकेका छन्, जसमध्ये प्रमुख जिम्मेवारीहरू यस्ता छन्:
होटल व्यवसायी संघ झापाका अध्यक्ष
होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष
बचत तथा ऋण सहकारी संघ झापाका संस्थापक सचिव (२०६७–०६८)
नेपाल दशनामी समाज झापाका वर्तमान सचिव
पूर्व नेपाल दशनामी समाज युवा संरक्षण समितिका संस्थापक अध्यक्ष
—
“सहकारी सबैको हो, सबैका लागि हो” – युवराज गिरी
गिरीले निर्वाचनका सन्दर्भमा सबै मतदातालाई अपनत्व र संस्थागत हितलाई केन्द्रमा राखी मतदान गर्न आग्रह गरेका छन्। उनले भने,
“यदि म विजयी भएँ भने, म कुनै गुट वा समूहको होइन, सबै सहकारी संस्थाको साझा सचिवका रूपमा काम गर्नेछु। सहकारीलाई जनमुखी, उत्तरदायी र पारदर्शी बनाउने मेरो दृढ प्रतिवद्धता छ।”
—
३१३ मतदाताको निर्णायक मतको प्रतीक्षा
सहकारी संघको सचिव पदमा हुन लागेको यो निर्वाचनमा ३१३ मतदाताहरूले मतदान गर्ने छन्। सचिव पदका लागि स्वतन्त्र उम्मेदवार बनेका युवराज गिरीको उम्मेदवारीले चुनावी माहोलमा नयाँ उत्साह थपेको छ।