झापा जिल्ला सहकारी संघको सचिव पदमा उम्मेदवार दंगालः नेतृत्व, अनुभव र प्रतिबद्धताको बलमा अघि सर्ने लक्ष्य

बिर्तामोड, वैशाख १२ – झापा जिल्ला सहकारी संघको सचिव पदका उम्मेदवार भवानी प्रसाद दंगाल (भानु) सहकारी क्षेत्रमा लगभग दुई दशक लामो अनुभव, संगठित नेतृत्व र सहकारी मूल्य–मान्यताप्रति समर्पित व्यक्तित्वको रूपमा स्थापित छन्।

वि.सं. २०३६ मा झापाको हल्दिबारी–५ मा जन्मिएका दंगालले शिक्षाको यात्रा मोती निमाविबाट सुरु गरी महेन्द्र क्याम्पस धरानबाट अंग्रेजीमा स्नातकोत्तर अध्ययन पुरा गरेका हुन्। तर, उनको वास्तविक पहिचान सामाजिक उत्तरदायित्व, सहकारीको समर्पण र जन–अपेक्षाप्रति इमानदारीपूर्ण योगदानका कारण स्थापित भएको हो।

२०६५ सालदेखि सहकारी अभियानको अग्रपंक्तिमा

दंगालको सहकारी यात्रा २०६५ सालमा सुरु भयो। २०६८ सालसम्म कर्णाली साकोस बिर्तामोडका सचिवको रूपमा काम गरेका उनले त्यसयता ‘हाम्रो नेपाल साकोस’ कोशी प्रदेशको छठौँ ठूलो सहकारी संस्थाको प्रमुख नेतृत्वमा रहेर निरन्तर योगदान दिँदै आएका छन्।

२०७४ मा झापा जिल्ला सहकारी संघको सह–सचिव, २०७८ देखि सचिव र २०७९ सालदेखि प्रदेश सहकारी संघको सचिव पदमा रहेर उनले सहकारीको संस्थागत सुदृढीकरणमा निर्णायक भूमिका खेलेका छन्।

‘काम बाँकी छ, अधुरो सपना पुरा गर्न फेरि मैदानमा’ – दंगाल

दंगालले सचिव पदमा पुनः उम्मेदवारी दिंदै भनेका छन् –
“मैले सुरु गरेका केही योजनाहरू अझ अधुरा छन्। सहकारी आन्दोलन अहिले संकटमा छ। त्यसलाई सुधार्ने र सही ट्रयाकमा ल्याउने मेरो दायित्व हो।”

६ बुँदे कार्ययोजनासहित सुदृढ सहकारी अभियानको प्रतिबद्धता

दंगालले आगामी कार्यकालका लागि प्रस्तुत गरेका ६ बुँदे कार्ययोजना यस्ता छन्:

1. सुदृढ र व्यावसायिक संघको विकास

2. सहकारी संस्थाहरूको गुणस्तर अभिवृद्धि र स्थायित्व

3. संस्था र संघको प्रवद्र्धन तथा सशक्तिकरण

4. वित्तीय सवलता र पारदर्शिता

5. व्यावसायिक सहकारी अभियानको विस्तार

6. संघ र सदस्य संस्थाको सुरक्षा तथा संरक्षण

सहकारी आन्दोलनको वास्तविक सुधारको लागि जनमत आवश्यक

दंगालको विचारमा सहकारीको संकट केवल बाह्य नभई आन्तरिक कमजोरीहरूबाट पनि उत्पन्न भएको हो।
“अहिले सहकारीभित्र अफवाह, भ्रम र अव्यवस्था छ। यसलाई प्रष्ट दृष्टिकोण, पारदर्शी नेतृत्व र सामूहिक प्रयासबाट मात्र सुधार गर्न सकिन्छ,” उनी भन्छन्।

“समृद्धिको मेरुदण्ड सहकारी” – दंगाल

तीन खम्बे अर्थनीतिमा सहकारीलाई मजबुत बनाएर मात्रै देशले समृद्धिको लक्ष्य भेट्न सक्ने दंगालको विश्वास छ।
“सहकारीको पुनर्जीवन बिना आर्थिक समावेशीकरण सम्भव छैन,” दंगालले स्पष्ट पारे।

सचिव पदमा मत माग्दै आग्रह

अन्त्यमा, दंगालले झापा जिल्ला सहकारी संघअन्तर्गतका सबै मतदाताहरूलाई अमूल्य मतद्वारा आफूलाई विजयी गराइदिन आग्रह गर्दै भने,
“यो लडाइँ पदको लागि होइन, सहकारीको पुनरुत्थान र संस्थाको विश्वसनीयताका लागि हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array