बिर्तामोडमा मेघाबारी–सञ्जीवनी सडक स्तरोन्नति सुरु

बिर्तामोड, १२ बैशाख। बिर्तामोड नगरपालिका वडा नम्बर ४ अन्तर्गत मेघाबारी चोकदेखि सञ्जीवनी हस्पिटलसम्मको सडक स्तरोन्नतिको कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज एक कार्यक्रमका बीच ४ सय २६ मिटर लम्बाइको सडक स्तरोन्नतिको विधिपूर्वक शिलान्यास गर्नुभयो।

सडक स्तरोन्नति योजना पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसामा (मूल्य अभिवृद्धि कर बाहेक) सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ठेक्का पाएको हो।

सडकअन्तर्गत १ सय ८५ मिटर दुबै साइडमा ढक्कनसहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण, ४ सय २६ मिटर क्षेत्रमा १८ फिट चौडाइको गुणस्तरीय चिन्हित पेभर लगाइनेछ। साथै, विजुलीका पोलको व्यवस्थापनसमेत गरिने जानकारी सो कार्यालयका ईन्जिनियर सुरेश चौधरीले दिनुभयो।

शिलान्यास कार्यक्रममा नगरप्रमुख प्रसाईले पटक–पटक प्रयास गर्दा पनि सम्पन्न हुन नसकेको योजनालाई शीर्षक संशोधन गरेर भए पनि कार्यान्वयनमा ल्याइएको बताउँदै जनप्रतिनिधि र स्थानीयबासीलाई सहजीकरणमा सघाउन आग्रह गर्नुभयो। उहाँले बिर्तामोडलाई औद्योगिक तथा व्यावसायिक केन्द्र बनाउने प्रयासस्वरूप योजनाहरूको प्रभावकारी कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।

वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस उपसभापति तथा वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कार्यपालिका सदस्य सिता ढुंगाना विक, एमाले नेता रोमणि भट्टराई, छविलाल विश्वकर्मा सहित टोल विकास समितिका पदाधिकारी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

२०७८ साल बैशाख ८ गते ठेक्का सम्झौता भई आगामी असार २० गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array