राजकुमार ओली काठमाडौं –
नेकपा (एमाले)का युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्ला दिनमा सार्वजनिक भएका विभिन्न आरोपप्रति आफ्नो कडा प्रतिक्रिया दिएका छन्।
केही राजनीतिक पात्र, सञ्चारकर्मी तथा कानुनी व्यवसायीहरूमार्फत आफूलाई बदनाम गर्ने नियोजित प्रयास भइरहेको उल्लेख गर्दै उनले ती सबै आरोप कपोकल्पित र निराधार भएको दाबी गरेका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, “मसँग गभर्नर नियुक्तिको विषयमा तपाईंहरूको पार्टीका नेतासँग २० करोडको डिल भएको प्रमाणसहित सार्वजनिक गर्नसक्ने हैसियत छ। यदि कुनै आरोप लगाउनुभएको छ भने प्रमाणसहित आउनुहोस्, अन्यथा मौन बस्नुस्।”
उनले आफूविरुद्ध आक्रोशपूर्ण शैलीमा उठाइएका टिप्पणीहरूलाई “अराजक शैलीको नकारात्मक राजनीति”को संज्ञा दिएका छन्। बस्नेतको भनाइमा, “राष्ट्रघात, भ्रष्टाचार र आपराधिक गतिविधिहरू मेरो आचरणसँग कहिल्यै मेल खाँदैनन्। न अतीतमा संलग्न भएँ, न वर्तमानमा छु, न भविष्यमा हुनेछु।”
पछिल्लो समय राजनीतिक वृत्तमा देखिएको आरोप–प्रत्यारोपको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले खुला बहसका लागि आफू सधैं तयार रहेको उल्लेख गरेका छन्। “कसैलाई केही भन्नु छ भने, भेटेर खुला बहस गर्नुस्। म तयार छु,” बस्नेतको भनाइ छ।
पूर्वमन्त्री बस्नेतले जुनसुकै जिम्मेवारी सम्हाल्दा पनि आफूले आचरणको मर्यादा नतोडेको र सार्वजनिक भूमिकामा सदैव पारदर्शिता कायम राखेको जिकिर गरेका छन्। “धरहराको टुप्पोमा उभिएर निर्धक्क बोल्न सक्ने नैतिक बल आज पनि मसँग छ,” उनले भने।
युवा नेताका रूपमा लामो समयदेखि क्रियाशील बस्नेतले आफूविरुद्ध भइरहेको “छरपस्ट प्रचार”लाई राजनीतिक प्रतिशोधको रूप मानेका छन्। उनले आरोप लगाउने सबै पक्षलाई प्रमाणसहित सार्वजनिक बहसमा आउन पुनः आग्रह गरेका छन ।