रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा तीन विधामा राष्ट्रिय पुरस्कार घोषणा

रविन ओली काठमाडौँ

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान, भद्रपुर–झापाले २०८१ सालका लागि तीन विधामा राष्ट्रिय पुरस्कार घोषणा गरेको छ।

प्रतिष्ठानले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार मानव अधिकार एकल महिला समूह (WHR), काठमाडौंलाई प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै, सोही राशिको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार पत्रकार बिनु सुवेदीलाई प्रदान गरिनेछ। सुवेदीले १५ वर्षको कलिलो उमेरदेखि जोखिमपूर्ण राजनीतिक बिटमा कलम चलाउँदै पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी हुन्।

त्यसैगरी, देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार संयुक्त रूपमा हेलम्बुकी ११ वर्षीया सदिक्षा पण्डित र नवलपरासीका १४ वर्षीय त्रिदेव पौडेललाई प्रदान गरिनेछ।

सदिक्षाले लैङ्गिक भेदभाव, बालविवाह, महिला हिंसा, महिनावारी जस्ता सामाजिक मुद्दामा आवाज उठाउँदै सामाजिक परिवर्तनमा क्रियाशील भूमिका निर्वाह गरेकी छन्। पौडेलले निबन्ध, कविता, कथा, नाटक र चित्रकलाका माध्यमबाट राष्ट्रिय चेतनाको सन्देश फैलाउँदै बाल प्रतिभाको उदाहरण प्रस्तुत गरेका छन्।

उक्त पुरस्कारहरू २०८२ वैशाख २० गते, शनिबार बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, प्रदर्शनी मार्गमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा प्रदान गरिनेछ।

प्रतिष्ठानले विगत ३० वर्षदेखि सामाजिक, सांस्कृतिक, आर्थिक विभेद र हिंसाबाट प्रभावित महिला तथा बालबालिकाको सशक्तिकरणमा योगदान दिने संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। संस्थाका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार प्रतिष्ठानले हालसम्म विभिन्न विधामा ४० भन्दा बढी व्यक्तित्व र संस्थाहरूलाई पुरस्कृत गरिसकेको छ।

वि.सं. २०६७ मा दिवंगत श्रीप्रसाद ओलीको एक करोड राशिको अक्षय कोषबाट स्थापना भएको यो गैर–नाफामूलक संस्था साहित्य, पत्रकारिता, महिला सशक्तिकरण, कृषि र बाल–विकासमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array