राजकुमार ओली काठमाडौं —
नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशिष्ट योगदान पुर्याउँदै आएका वरिष्ठ साहित्यकार तथा कूटनीतिज्ञ डा. दुबसु क्षेत्रीलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।
प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि वैरागी काइँलाको हस्ताक्षर रहेको विज्ञप्तिमा प्रा.डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा प्रा.डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य रहेको त्रिसदस्यीय छनोट समितिको सिफारिसमा डा. दुबसु क्षेत्रीलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ।
नेपाल सरकारका सहसचिव तथा हाल जापानका लागि नेपाली राजदूतसमेत रहेका डा. क्षेत्री साहित्य, अनुसन्धान, अनुवाद र संस्थागत विकासको क्षेत्रमा बहुआयामिक योगदान पुर्याउँदै आएका छन्। उहाँले युगकवि सिद्धिचरण श्रेष्ठका कविता अङ्ग्रेजी तथा जापानी भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने कार्य मात्र नभई, आफ्नै नाममा रहेको ‘दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान’ मार्फत ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशन र त्यसको नाट्यरूपान्तरणसमेत गराएका छन्। सो नाटक बेलायतलगायत विभिन्न देशहरूमा मञ्चन भइसकेको छ भने सिनेमा निर्माणको प्रक्रिया अघि बढिरहेको छ।
डा. क्षेत्रीका ‘अश्वमेध यज्ञका घोडाहरू’, ‘अवतार विघटित हनुमान’, ‘चुपचाप चुपचाप’, ‘मुटु चोर्ने आँखाहरू’, ‘मनभित्र पनि आकाश हुन्छ’ जस्ता ३८ भन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन्। उहाँले ३० भन्दा बढी संकलन तथा सम्पादना गरेका छन् भने एक दर्जनभन्दा बढी कृतिहरू अनुवाद गरेका छन्। नेपाल, बेलायत, जापान र अमेरिकाका विश्वविद्यालयहरूमार्फत उच्च शिक्षा हासिल गरेका डा. क्षेत्री ‘आधुनिक जापानमा बौद्ध धर्म’ विषयमा दोस्रो पीएचडी गर्दै छन्।
प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठका अनुसार यो पुरस्कार आगामी जेठ ९ गते युगकविको ११४औँ जन्मजयन्तीका अवसरमा विशेष समारोहबीच प्रदान गरिनेछ।