https://youtu.be/CyGmsdGBsSM?si=9bc3-MXezp8i20P4
राष्ट्रिय समाचार समिति
बिर्तामोड,  वैशाख:( रासस)
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले लगानी सम्मेलनबारे जानकारी दिनुहुँदै “कोशी प्रदेशलाई लगानीमैत्री गन्तव्य बनाउने हाम्रो सपना अब यथार्थमा परिणत भएको बताउनुभएको छ।
यो सम्मेलन आर्थिक समृद्धिको मूल आधार बनाउने दृढ विश्वासका साथ कोशी प्रदेश सरकार अघि बढेको र अथाह सम्भावना बोकेर आफूहरू तयार रहेको बताउनुभएको हो।
कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको ऐतिहासिक लगानी सम्मेलन वैशाख १८ गते विराटनगरमा आयोजनाको सम्पूर्ण तयारी पूरा भएपछि मुख्यमन्त्री कार्कीले अबका दिनमा कोशी प्रदेशले आर्थिक छलाङ मार्ने विश्वास बढेको जानकारी गराउनुभएको हो।
मुख्यमन्त्री  कार्कीका अनुसार कोशी प्रदेश सरकारले ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधिलाई प्राथमिक लगानी क्षेत्रका रूपमा पहिचान गर्दै सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको छ।
“हामीले लगानीकर्ताका लागि सहुलियत, सुरक्षा र सहजीकरण सुनिश्चित गरेका छौं,” उहाँले भन्नुभयो “सम्मेलनपछि कोशी प्रदेशमा प्रत्यक्ष वैदेशिक र आन्तरिक लगानी प्रवाह तीव्र हुनेछ।”
मुख्यमन्त्री कार्कीले सम्मेलनलाई प्रदेश विकासको ‘टर्निङ प्वाइन्ट’को रूपमा चित्रण गर्दै भन्नुभयो“यो केवल सम्मेलन मात्र होइन, दीर्घकालीन आर्थिक नीतिको यात्राको थालनी हो। हामीले नीति, संरचना र मनोवृत्तिमा आमूल परिवर्तन ल्याउने अठोट गरेका छौं।”
कोशी प्रदेशले  सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका अग्रणी व्यवसायी, बैंक तथा वित्तीय संस्था, विदेशी नियोग, विकास साझेदार र विभिन्न मुलुकका सम्भावित लगानीकर्ताहरूको सहभागिता रहने जानकारी गराएको छ।
प्रदेश सरकारले सम्मेलन सफल पार्न व्यापक प्रचार–प्रसार, नीति सुधार र समन्वयात्मक पहलहरू अघि सारेको बताइएको छ। लगानी सम्मेलनलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १८ गते भव्य रुपमा उद्घाटन गर्ने तयारी कोशी प्रदेशले गरेको हो।..

Leave a Reply

Your email address will not be published. Required fields are marked *