बिर्तामोड, झापा –

बिर्तामोड नगरपालिका–२, चारपानेस्थित एकता टोल निवासी १०२ वर्षीया देउमाया (खरेल) सिटौला अब स्मृतिमा मात्र रहने भएकी छन्।

दीर्घकालदेखि गाउँ–समाजमा ममतामयी हजुरआमाका रूपमा परिचित देउमायाको वैशाख १६ गते भएको निधनले सम्पूर्ण परिवार, छरछिमेक र समुदायलाई गहिरो शोकमा डुबाएको छ।

उहाँको जीवन सादगी, सहनशीलता र परोपकारको उदाहरणस्वरूप रह्यो। अति सामान्य जीवनशैली अपनाउँदै हरेक पुस्तालाई आशीर्वाद दिने, संस्कार र मूल्य बोकी जीवन यापन गर्ने देउमायाले झापा जिल्लाको सामाजिक ताना–बाना बुनिने क्रममा मौन तर प्रभावशाली योगदान पुर्‍याउनु भएको थियो। परिवारमा उहाँलाई सबैले ‘हजुरआमा’ का रूपमा मात्रै होइन, जीवनको अनुभव र आशीर्वादको स्रोतका रूपमा पनि हेर्ने गर्थे।

उहाँका ५ छोरा, ३ छोरी, दर्जनौं नातिनातिनी तथा पनातिहरू छन्, जो विभिन्न क्षेत्रमार्फत समाज सेवा, शिक्षा, व्यवसाय र प्रशासनिक क्षेत्रमा क्रियाशील छन्। उहाँको जीवनले परिवारमा मात्र होइन, समाजमा पनि गहिरो प्रेरणा छोडेको छ। चारपाने अर्जुनधारा विकास समाज का पूर्व अध्यक्ष एवं सल्लाहकार डिल्ली सिटौला, नारायण सिटौला माधव सिटौला समेतकि ममतामयी माता देउमाया आफैमा महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्थ्यो।

देउमायाले नेपाली ग्रामीण समाजको आदर्श आमाको छविलाई नजिकबाट व्याख्या गर्नुभएको थियो। धर्म, संस्कार र सामाजिक मेलमिलापमा विश्वास राख्दै  अनेक पारिवारिक उतारचढावका बाबजुद पनि सबैलाई समेट्ने अभ्यासलाई कहिल्यै त्याग्नुभएन।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजनहरूले भन्नुभयो, “हामीले केवल एक हजुरआमा मात्र होइन, हाम्रो घरको आधार, अनुशासन र संस्कारको प्रतीक गुमाएका छौं।”

परिवारजनले उहाँको अन्तिम संस्कार आजै बिर्तामोडमा पारिवारिक धार्मिक परम्परा अनुसार सम्पन्न गरेको जानकारी दिएका छन्।

देउमाया (खरेल) सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको  दुखद निधनले सिटौला परिवारमा गहिरो शोक भएको बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समिति का उपाध्यक्ष समेत रहेका शैलेन्द्र सिटौलाले पूर्व खबरलाई बताए।

मृतक सिटौलाको आज नै बिर्तामोडको चारपानेबाट शोक र्याली सहित कन्काई आर्यघाटमा अन्तिम दाह संस्कार गरिने परिवार स्रोतले बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *