राजकुमार ओली।कचनकवल, झापा –
सडक र गल्लीको छेउमै जीवनको स्वर साध्ने दृष्टिबिहीन गायक जेठा मुर्मु १७ वर्षदेखि गीत गाएर आफ्नो र परिवारको जीवन धानेका छन्।
उनीसँग देख्न नसक्ने आँखा भए पनि संगीतमार्फत समाजलाई महसुस गराउने दृष्टि थियो—एक अदृश्य सपना थियो, जुन मंगलबार आफ्नै गाउँपालिकाबाट सहयोग पाइएला भन्ने आशामा चम्किरहेको थियो।
तर त्यो सपना केही क्षणमै उजाड भयो।
कचनकवल गाउँपालिकाले एक कार्यक्रमबीच करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकारसँगको साझेदारीमा जेठा मुर्मुलाई साउण्ड सिस्टम प्रदान गर्यो। तर त्यो उपहार उनको आवश्यकता, मर्म र सम्मानसँग मेल खाएन। “सोचेको थिएँ अब राम्रो स्पीकरमा गीत गाउन पाउनेछु,” कार्यक्रमपछि उनले टाउको झुकाउँदै भने, “तर न हेवी स्पीकर रहेछ, न राम्रो माइक। रिमोट पनि चलेन… यस्तो त फेरि बिग्रिरहन्छ।”
उनले गाएका गीत “रितुहरूमा तिमी…” र “आँखा छोपी नरोऊ…” जस्तै शब्दहरूले दर्शकको मन छुयो। तर कार्यक्रम सकिएपछि, ती शब्दको पीडा स्वयं गायकको आँखाबाट ओर्लिएको थियो—स्वर बाँकी थियो, तर सपना भत्किएको।
कार्यक्रममा अध्यक्ष कालेन्द्र सिह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रशासकीय अधिकृत स्काई पोख्रेल, शाखा प्रमुख सुनिता दाहाल, फाउन्डेसन संयोजक अञ्जना लामिछानेजस्ता पदाधिकारीहरू थिए। उपस्थित सबैको नजरमा त्यो सहयोग “सहमति” थियो, तर जेठा मुर्मुको लागि त्यो केवल सस्तो सम्झना बन्यो।
सपना देखेका थिए—गाउँकै सहयोगले भविष्यमा गीत रेकर्ड गर्न सकिन्छ, सहरसम्म पुग्न सकिन्छ, कहिल्यै नमरेको स्वरलाई देशैभरि पुर्याउन सकिन्छ। तर उपहारको स्तर देख्दा ती सपनाहरू माइकको बिग्रिएको तारसरह बिथोलिए।
विगत १७ वर्षमा उनले असंख्य गीत गाए—कहिले छोरीको विवाह खर्च जुटाउन, कहिले आफ्ना आँखा उपचारका लागि सहयोग गर्नुपर्ने साथीका लागि। उनीसँग न आँखा थिए, न हातमा सुविधा, तर संगीतमा उनको आत्मा थियो। त्यही आत्माले भन्थ्यो—जीवनमा प्रकाश नहोला, स्वर त होस्।
तर मंगलबारको त्यो बिहान, जहाँ उनले माया पाउने आशा गरेका थिए, त्यही ठाउँबाट खाली हात फर्किए—उपहार छाडेर, सपना च्यातेको मुटु लिएर।
“गीत त अझै गाइरहनेछु,” भन्दै भद्रपुरतिर लाग्दा उनका पाइला भने यति भन्न खोजिरहेका थिए—“म त अन्धकारमै बाँच्न सिकिसकेको थिएँ, तर तपाईंहरूले दिन खोजेको उज्यालो झुटो निक्लियो।”