सरस्वती मिश्र ओली बिर्तामोड, वैशाख १८

सुन्दरताको संसार र लोकभावनाको स्वर—दुवै क्षेत्रमा एकैसाथ उज्यालो फैलाउने एक नाम हो, पवित्रा ओली।
एस पि ब्युटी पार्लरको व्यावसायिकताबाट चर्चामा रहेकी लोक तथा शास्त्रीय गायनमा अबल बन्दै गरेकी, ओली सँगसँगै लोकसंगीतको समर्पित साधकका रूपमा पनि परिचित छिन्।

ब्युटिसियनको २० वर्षे अनुभव
पेशागत सौन्दर्यकला क्षेत्रलाई २०६२ सालबाट निरन्तर व्यवसायिकता को साधना गर्दै अघि बढेकी ओलीले भद्रपुरमा ‘S.p. ब्युटी पार्लर’ नामक सेवा केन्द्र स्थापना गरेकी हुन्। सुरुमा एक सामान्य कोठाबाट सेवा आरम्भ गरेकी ओलीको पार्लर अहिले आधुनिक उपकरण, पारखी ग्राहक र दक्ष टोली सहित सञ्चालनमा छ।

“सौन्दर्य भनेको आत्मविश्वास हो,” ओली भन्छिन्, “र त्यो आत्मविश्वास दिलाउन सक्नु नै मेरो सफलता हो।” उनले अनुहार सौन्दर्य, विवाह संस्कार, हेयर स्टाइलिङ, स्किन थेरापी लगायतका क्षेत्रमा पेशागत दक्षता हासिल गरिसकेकी छन्। नियमित तालिम, नयाँ प्रविधिको प्रयोग र व्यक्तिगत केयर सेवाले उनको सेवा क्षेत्र फराकिलो बनाएको छ।

गायनमा पनि उस्तै जोश
पवित्रा ओली मात्र सौन्दर्यकलामा होइन, ६० सालबाट रेडियो नेपाल हुँदै लोकसंगीतमा र शास्त्रीय गायनमा समेत सशक्त उपस्थिति जनाउँदै आएकी छन्। थुप्रै चर्चित लोकदोहोरी गीतमा स्वर दिएकी ओलीको ” रेडियो नेपाल र नेपालका शास्त्रीय गायन का क्षेत्रमा समेत उत्कृष्ट”  गीतहरूले दर्शक स्रोताको मन जितेका छन्। लोकभाका प्रति गहिरो लगाव राख्ने ओलीले गीतहरूमा आफ्नै जीवनभोगाइ, गाउँले परिवेश र समाजका कथा बुनिरहेकी छन्।

‘माहुरी झैँ ब्यस्त’, तर सन्तुलित जीवन
ब्युटिसियन र गायन दुवै पेसामा सकृय हुँदा, समय व्यवस्थापन कसरी गर्छिन् त? उनी भन्छिन्, “समयको व्यवस्थापन, परिवारको साथ र पेशाप्रतिको इमानदारी नै मेरो ऊर्जा हो। म बिहान सौन्दर्यसेवामा र साँझ संगीत साधनामा रमाउँछु।”

नारी उद्यमशिलताको प्रेरणा
पवित्रा ओली आज झापाका महिला उद्यमीहरूको आदर्श बनेकी छन्। पार्लरमा काम सिकाउनेदेखि स्वरोजगार बनाउने अवसर दिने कार्यमा उनी अग्रसर छिन्। “मलाई सिकेर जानेलाई भन्दा सिकाएर जानेलाई प्राथमिकता छ,” उनी भनिरहन्छिन्।

भविष्यको योजना
आफ्नो ब्यूटी एकेडेमी खोल्ने र लोकसंगीतमा फरक स्वाद ल्याउने योजना बनाइरहेकी ओलीको यात्राले हजारौं युवतीलाई आत्मनिर्भरता र सिर्जनात्मकताको बाटो देखाइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *